
पछिल्लो समय वीरगञ्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। वीरगञ्जमा भइरहेको कोरोना परीक्षणमा आधाभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएको हो।
कोरोना संक्रमणको तेस्रो लहर चलिरहँदा पहिलो र दोस्रो लहरमा हटस्पट बनेको वीरगञ्ज तेस्रो पटक हटस्पट बन्ने देखिएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार अस्पतालमा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६४ जनाको स्वाब परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले जानकारी दिए।
संक्रमण देखिनेमा पर्साका ३४ जना, बाराका चार, रौतहट, सर्लाही, लमजुङ र तनहुँका एक–एक जना रहेका छन। ६ देखि ७४ वर्ष उमेर समूहका २४ पुरुष र १९ जना महिलामा संक्रमण देखिएको डा सिंहले बताए।
‘परीक्षण गरिएकामध्ये आधाभन्दा बढीमा कोरोना देखिँदै छ। उनीहरुको स्वास्थ्य अवस्था समान्य नै देखिएको छ’, उनले भने, ‘सावधानी अपनाउन जरुरी छ। खोप लिएका नलिएका तथा बालबालिका, वृद्धवृद्धाहरुलाई बढी सावधानी अपनाउनु पर्छ।’
त्यस्तै बिहीबार परीक्षण गरिएकामध्ये ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस दिन अस्पतालमा ४७ जनाको स्वाब परीक्षण गरिएको थियो। संक्रमण देखिएकामध्ये सबैभन्दा बढी पर्साका २६ जना, बारा र रौतहटका दुई–दुई जना र सर्लाहीका एकजनामा कोरोना पुष्टि भएको थियो। संक्रमण देखिनेहरुमा १५ देखि ७२ वर्ष उमेर समूहका १८ पुरुष र १३ जना महिलाहरु रहेका छन्।
हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये तीन जनामात्रै नारायणी अस्पतालमा भर्ना भएका छन। अन्य संक्रमित घरमै होम आइसोलेसनमा बसेको सिंहको भनाइ छ। साभार देश सञ्चार बाट




