नेकपा फुटको नजिक, संकट परेपछि यी शीर्ष नेताले सम्झिए कांग्रेसका दुई हस्ती

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले पार्टी विभाजन रोक्नका लागि नेपाली कांग्रेसका दुई शीर्ष नेताहरूको जस्तै त्याग रहनुपर्ने बताएका छन् ।

बिहीबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले स्व.गणेशमान सिंह र स्व.कृष्णप्रसाद भट्टराईले कांग्रेस पार्टीलाई बचाउन आफैले कांग्रेस छाडेर बसेको स्मरण गरेका छन् ।

नेकपाभित्र नेताहरूको असन्तुष्टि र विवादले उग्ररुप लिइरहेका बेला श्रेष्ठले सिंह र भट्टराईलाई सम्झिएका हुन् ।

पार्टीभित्रको विवाद चरम अवस्थामा पुगिसकेको छ । नेकपामा जुनसुकै बेला जे पनि हुनसक्ने आँकलन भइरहेको छ ।

पार्टीका सबै निकायमा अल्पमतमा रहेका खड्गप्रसाद ओलीले विरोधीहरूलाई पेलेरै लैजाने नीति बनाएपछि नेकपा फुटको संघारमा पुगेको चर्चा हुन थालेको छ ।

ओलीविरुद्ध स्थायी समिति सदस्यहरू अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण विष्ट, चाक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, पम्फा भुसाल, बेदुराम भुसाल, भीम आचार्य, भीम रावल, मणि थापा खुलेरै सक्रिय बनेका छन् ।

मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लीलामणि पोखरेल, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलहरू पनि ओलीको विपक्षमा छन् ।

प्रवक्ता श्रेष्ठले पार्टी विभाजनको आशंका व्यक्त गरेका छन् । ‘नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔं’, उनले ट्वीटमा लेखेका छन्, ‘एकता र रुपान्तरणको पक्षमा उभिऔं । आआफ्नो ठाँउबाट भूमिका खेलौँ, योगदान गरौं ।’

‘पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन्’, उनले भनेका छन्, ‘निजी स्वार्थ त्यागौं, यो काम पूरा गरौं ।’

प्रवक्ता श्रेष्ठले ट्वीटले नेकपाभित्र केही हप्ताभित्रै ठूलै संटक आउने संकेत गरेको छ ।

‘गणेशमानजी र किसुनजीले नेपाली कांग्रेस एक राख्न पार्टी परित्यागसम्म गर्नुभयो । त्यो कदम ठीक थियो कि थिएन, बहस होला’, नेकपाका प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘तर पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो । हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ ।’

‘पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनु पर्छ’, प्रवक्ता श्रेष्ठले भनेका छन् ।

नेकपाका नेता एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि खड्गप्रसाद ओलीको राजीनामा माग गरे पार्टी फुट्ने चेतावनी दिएका छन् ।

उनले ओलीको राजीनामा माग गरिए पार्टी एकताको सहमति भंग हुने चेतावनी दिएका छन् । नेम्वाङको यो चेतावनीले पनि नेकपा अब धेरै दिन सग्लो पार्टी रहनेमा नेताहरू नै विश्वस्त छैनन् ।republicadainik

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close