
सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाएको भन्दै सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयले प्रेस नोट जारी गर्दै स्यानिटरी प्याड आयातमा आ.व. २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको स्पष्ट पारेको हो ।
प्रेस नोटमा भनिएको छ, ‘वर्तमान सरकारले महसुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौं । बरु स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको छ ।’ स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पु–याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको सचिवालयको भनाइ छ ।
यसरी ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्त्वहरूको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछौँ,’ प्रेस नोटमा भनिएको छ । ratopati




