
एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा सहभागी नहुने बताए । संसद् अवरोध र एमसीसीबारे सरकारको नेतृत्व गरिरहेको दल कांग्रेससँग छलफल हुनसक्ने पोखरेलले बताए । संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने भनिएका सबै दललाई बोलाए एमाले सहभागी नहुने बताएका छन्।
प्रतिनिधिसभाको आगामी बैठक पुस ६ गते मंगलबारका लागि आह्वान गरिएको छ । उक्त दिनको बैठकमा एमसीसी सम्झौतालाई अगाडि बढाउने सरकारको तयारी रहेको छ । अर्कोतिर एमालेले संसद्मा अवरोध जारी राखेको छ ।
आफूबाट विभाजित भएर नेकपा (एस) गठन गरेका माधवकुमार नेपाललगायत १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै एमालेले विरोध गरिरहेको हो । उनीहरूलाई सांसद पदबाट मुक्त गर्नुपर्ने एमालेको माग छ । नेकपा (एस) भने देउवा नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी छ । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।
आजको कान्तिपूरबाट




