सीमा नाकाबाट तस्करी, असुलीमा सशस्त्रका डिएसपी

राजश्व सङ्कलनमा योगदान दिने विभिन्न निकाय मध्येको एक प्रहरी सङ्गठन पनि हो । जसले शान्ति सुरक्षा कायम गर्नुको साथै अपराधीक गतिविधिलाई नियन्त्रण गर्ने गर्दछ । अर्थात् सीमा नाकाबाट तस्करी गरी राजश्व छल्ने अवैध कारोबारलाई नियन्त्रण गरी राज्यको राजश्व सङ्कलनमा पनि टेवा पुर्याउछ ।

सरकारको आम्दानीले साधारण खर्चै नधानिने, कर्मचारीले तलबै नपाउने अवस्था आउने त हैन भन्ने आशङ्का गरिराखिएको बेला आमदानीको प्रमुख स्रोत राजश्व सङ्कलनमा योगदान दिने विभिन्न निकाय मध्येको एक प्रहरी सङ्गठनका केही जिम्मेवार प्रहरीले राज्यले उठाउने दिनहुँ लाखौँ राजश्व छली गर्ने अवैध कारोबारलाई छुट दिएको पाइएको छ ।

सीमा नाकाबाट हुने चोरी तस्करी जस्ता अवैध कारोबारलाई नियन्त्रण गरी राजश्व सङ्कलनमा बढोत्तरी गर्न नेपाल सरकारले सीमा नाकाको ठाउँ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । तर त्यही प्रहरीहरूले अवैध आयात गर्ने व्यापारीहरूको साँठगाँठमा तस्करीलाई तीव्रता दिएको पाइएको हो ।

खासगरी भारतसँग जोडिएको पर्साको ग्रामीण सीमा नाका अलौं, कोनिया, झौवागुठ्ठी, अमरपट्टी लगायतको नाकाबाट प्रहरीको सेटिङ्गमा यतिबेला तस्करी गर्ने व्यापारीहरूलाई अवैध आयात गर्न भ्याईनभ्याई छ । पर्साको अन्य नाकामा पनि तस्करहरूको रजगज नरहेको भन्ने पक्कै पनि होइन । तर अहिले अलौ-कोनिया, झौवागुठ्ठी, अमरपट्टी, प्रसौनीभाठ्ठा लगायतको नाकाको प्रयोग गरी रातीको समयमा कपडा, राँगाभैसी, कुखुराको चल्ला, हार्डवेयर तथा इलेक्ट्रोनिक्स पार्टपूर्जाको खुलेआम तस्करी भइरहेको छ । सस्तो र शुलभ दरमा राम्रो गुणस्तरको कपडा पाइने प्रख्यात रहेको भारतको रक्सौल र भेलाही बजारबाट आयात गर्न सहज हुने अलौ-कोनिया, झौवागुठ्ठी, अमरपठ्ठी र प्रसौनीभाठ्ठा नाकाको प्रयोग गरी तस्करहरूले प्रहरीकै सेटिङ्गमा रातीको समयमा दिनहुँ लाखौँ राजश्व छली गर्दै अवैध कपडा लगायतको सामानको आयात गरिरहेका छन् ।

प्रहरीको सहयोगमा भन्सार छली गरी भित्रिने कपडा पर्साको पोखरिया, बिन्दवासिनी, बहुअरी पिडँरी लगायतको ग्रामीण भेगमा सञ्चालित कपडा पसलहरूमा जाने गरेको बताइन्छ । यस नाकाको प्रयोग गरी अवैध आयात हुने कपडा जितपुर, सिमरा बजारमा सञ्चालित कपडा पसलहरूमा समेत जाने गरेको स्रोतले बताएको छ । शुक्रबार राती करिब ८ः३० बजे भारतबाट तस्करी भएको चारवटा मोटरसाइकलमा सवार कपडा बिन्दवासिनी चौकदेखी उत्तर तर्फ जाँदै गरेको बारे तिलावेपुल अलौ-कोनियास्थित रहेको सशस्त्र प्रहरी बल (बिओपी)का इन्चार्ज डिएसपी योगेशचन्द्र बराललाई जानकारी गराउँदा तस्करीमाथि कडा निगरानी रहेको दाबी गरे ।

डिएसपी बरालले आफै भोला नाम गरेको व्यापारीले कपडाको कारोबार गर्ने गरेको कुरा सुनेको बताउँदै सीमा नाकामा हदैसम्म कडाइ रहेको भन्दै आजै राती कपडा समातिने दाबी गरे । तर बिहान सोध्दा रातभरी निगरानी गर्दा पनि कहिँकतैबाट कपडा नगएको प्रतिक्रिया दिए । तर व्यापारी स्रोतले भने यिनै डिएसपीको सेटिङ्मा दिनहुँ लाखौँ मूल्य बराबरको कपडाको तस्करी हुने गरेको बताएको छ। जुन अहिले पनि रोकिएको छैन। जसलाई जोकोही सर्वसाधारणले पनि बताउने गरेका छन् ।

स्थानीय व्यापारी अशोक गुप्ताका अनुसार तस्करीका कपडा पर्साको बिन्दवासिनी, बहुअरी, बिश्रामपुर लगायतको ठाउँमा सञ्चालित कपडा पसलहरूमा जाने गरेको छ । जहाँ तस्करीकै कपडाले कारोबार हुने गरेको दाबी गरेका छन् ।

रातीको समयमा यस नाकाहरूबाट कपडाको मात्रै नभई कुखुराको चल्ला र राँगा भैँसीको पनि व्यापक तस्करी भइरहेको छ । तस्करी भएर आउने कुखुराको चल्ला ग्रामीण भेगमा सञ्चालित कुखुरा र्फमहरुमा जाने गर्छ । क्वारेन्टाईन बिनै तस्करी भई भित्रिने राँगा भैँसीहरू भने तिलावे पुल, घुर्मी, जगरनाथपुर हुँदै परवानीपुर पशु हाट बजारमा जाने गरेको पाइएको छ ।

यी विभिन्न कारोबार गर्ने तस्कर ब्यापारीहरुसँग डिएसपी बरालको सेटिङ रहेको बताइन्छ । जुन यश क्षेत्रबाट हुने तस्करीको घटनाले पनि पुष्टि गरेको भन्दा खासै फरक पर्दैन ।

जिल्ला प्रशासन कार्यालय, राजश्व कार्यालय, वाणिज्य कार्यालय लगायतको नियामक निकायले यी विभिन्न फर्म तथा पसलहरूमा अनुगमन गर्ने हो भने तस्करीको घटना घाम जतिकै छर्लङ्ग हुने दाबी गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close