
कपिलवस्तुकाे शिवराज नगरपालिकाले हिउँदै अधिवेशनमा अनिवार्य तथा निशुल्क शिक्षा कार्यन्वयन गर्न बनेको ऐन २०७९ को दफा ६ बमोजिम शिवराज नगरपालिका भित्र रहेका कर्मचारी तथा जनप्रतिनिधिले आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्ने आफ्नो कर्तव्य रहेको नगर प्रमुख अजय थापाले बताए ।
नगर प्रमुख अजय थापाले प्रमुख प्रशासकीय अधिकृतलाई पत्र मार्फत जानकारी गराउदै शिवराज नगरपालिकाको अनिवार्य तथा निशुल्कः शिक्षा कार्यान्वयन गर्न बनेको ऐन २०७९ को दफा ६ बमोजिम “सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु कर्तव्य हुनेछ” भनी उल्लेख भए बमोजिम कार्यान्वयनका लागि सूचना जारी गर्न पत्र मार्फत निर्देशन दिएका छन् ।
नगर प्रमुख थापाले पत्रमा चालु आर्थिक वर्ष २०८०/०८१ मा शिवराज नगरपालिका भित्र विभिन्न शाखामा करारमा कार्यरत कर्मचारीहरुलाई आफ्ना सन्तान सामुदायिक विद्यालयमा न पढाए करार समझौता नगर्न निर्देशन दिएका छन् । कपिलवस्तुमा दश वटा पालिका मध्य शिवराज नगरपालिकाले निशुल्क शिक्षालाई प्रभावकारी ढंगले अगाडी बढाएको छ ।





