एसपीलाई गुमराहमा पारी इनर्वा चौकीका असई मुन्नीलाल राउतको असुली धन्दा तिब्र

एसपीलाई गुमराहमा पारी इनर्वा चौकीका असई मुन्नीलाल राउतको असुली धन्दा तिब्र

अस्थायी प्रहरी पोष्ट इनर्वागाउँ, पर्सा वीरगंजका इन्चार्ज असई मुन्नीलाल राउतले एसपीलाई गुमराहमा पारी असुली धन्दालाई तिब्र पारेका छन् । उनको कमाण्डमा खटेका सिपाही, हवल्दार एवं घुमुवाले सेटिङ्ग भएका तस्करहरुको सामान नछुने तर सर्वसाधारणको सामानलाई समातेर चौकी ल्याउने अनि सेटिङ्ग गरि पैसा लिएर छाड्ने गरेको पाइएको हो ।

उदाहारणको लागि दुई महिनादेखि चौकी अगाडि राखिएको कबाडको ठेलालाई असई राउतले १० हजार रुपैया बुझेर छाडेको बताइएको छ । दुई महिना अघि उनीसँग सेटिङ्ग नगरि एकजना ठेला चालक भारतीय नागरिकले ठेलामा कबाड लोड गरि भारत तर्फ लैजाँदै गरेको अवस्थामा असई राउतको कमाण्डमा खटिएको प्रहरीले समातेर चौकीमा ल्याएको थियो । चौकीमा ल्याए पश्चात लेनदेनमा कुरा नमिलेपछि असई राउतले पर्साका प्रहरी उपरीक्षक कोमल शाहलाई जानकारी गराई ठेलालाई थन्काएका थिए । तर तीन महिना पश्चात असई राउतले एसपी शाहलाई गुमराहमा पारी ब्याट्रीको छाइँको तस्कर तमन्ना मार्फत १० हजार रुपैयाँ असुली गरि ठेला छाडेको बताइएको छ ।

तमन्नाले ठेला समातेकै बखतदेखि छोडाउनमा लागि परेका थिए तर पैसा लेनदेन नमिलेपछि असई राउतले ठेला छाडेका थिएनन् । ठेला छोडाउनका लागि तमन्नाले भारतीय नागरिक ठेला चालकसँग तीन महिना अघि नै १० हजार रुपैयाँ लिएर खाईसकेको र हाल पुनः त्यही ठेला छोडाउनको लागि १० हजार रुपैयाँ लिएर असई राउतलाई बुझाएको समाचार श्रोतले जनाएको छ । त्यो ठेलालाई छोेडाउनका लागि तमन्नाले ठुलै कसरत गरेका थिए । असई राउतले छाड्न नमानेपछि एसपी समक्ष पनि पुगेका थिए । त्यतिमा पनि ठेला नछुटेपछि विभिन्न पार्टीका नेताहरुसँग एसपीलाई दबाब पनि दिन लगाएका थिए ।

सेटिङ्गविना कबाड भारत लैजान लाग्दा असई राउतले समातेर तीन महिनादेखि चौकी अगाडि थन्काएर राखेका कबाडको सामान सहितको ठेला ।
ठेलामा आखिर हो के ? भनेर एसपी शाहले ठेला र सामान नछाड्न आदेश दिएपछि तमन्नाले आफ्नो तस्करीको कार्यतर्फ होमिएका थिए । त्यस पश्चात तीन महिना पछि असई राउतले ठेलामा खासै सामान नरहेको भनेर एसपी शाहलाई गुमराहमा पारी तस्कर तमन्ना मार्फत १० हजार रुपैयाँ असुली ठेला र सामान दुबै छाडेको तस्कर श्रोतले जनाएको छ । एसपीलाई धेरै दबाब आएपछि सामान राखेर ठेला मात्रै छाड्न असई राउतलाई आदेश दिएका थिए तर असई राउतले आदेशलाई लत्याउँदै पैसा बुझेर ठेला र सामान दुबै छाडेको बताइएको हो । उक्त ठेलामा कम्प्युटरको बोर्ड, व्याट्री, बहुमूल्य तामाका तार, पित्तलका सामान, सिल्भरको मोटरसाइकलको इन्जिनको सामान सहित बहुमूल्य सामानहरु थिए ।

तमन्नाले तस्करीको साथसाथै बुवा पूर्व हवल्दार रहेको भनेर प्रहरीसँग तस्करीको सेटिङ्ग गराईदिने भनेर अन्य तस्करहरुसँग प्रहरीको नााममा पैसा पनि असुल्ने गरेको बताइएको छ । यो त उदाहारण मात्रै हुन्, असई राउतले नेपाल भारतको खुल्ला सिमानामा पर्ने इनर्वा गाउँबाट आउने हरेक सामान बापत पैसा बुझ्ने गरेको स्थानीयहरुको भनाई छ । तस्करीको अधिकाँश सामान इनर्वा गाउँ हुँदै वीरगंजसम्म आउने गर्छ । असई राउतले इनर्वागाउँ हुँदै आउने सामानलाई निगरानी गर्न ‘पटेल’ भनेर चिनिने घुमुवा परिचालन गरेका छन् ।

जसले सेटिङ्ग नगरेको सामान आएको देख्ने वित्तिकै असई राउतलाई जानकारी गराई समात्ने गरेका छन् । समातेको सामान चौकीमा ल्याई पैसा लिएर छाड्ने गरिएको त्यहाँका प्रत्यक्षदर्शी स्थानीयहरुको भनाई छ । उनका सिपाही, हवल्दार एवं घुमुवा सेटिङ्ग भएका तस्करहरुको सामान नछुने र सर्वसाधारणहरुको जुनसुकै सामान पनि खोसेर ल्याउने गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close