
मिलेमतोमा भद्रपुर नाकाबाट भारतीय पदार्थ सामानको तस्करी मौलाइरहेको छ । वडा प्रहरी कार्यालयको प्रत्यक्ष निगरानीमा रहेका भद्रपुर क्षेत्रका केही नाकाबाट तस्करीका सामान भित्रिएको छ ।
स्थानीय प्रहरीकै सेटिङमा तस्करी भइरहेको पुष्टि भएको छ । झापाको भद्रपुर नाकामा ड्युटीमा खटिएका सशस्त्र र जनपद प्रहरीकै सेटिङमा तस्करीका सामान भद्रपुर बजार आएको छ । नेपाल तथा भारतको बंगाल तथा बिहार राज्य जोडिएको भद्रपुर नाकाबाट करोडौ मुल्य बराबरको लत्ताकपडा नेपाल भित्रिने गरेको छ । तर, भारतको गलगलिया भन्सार भएर भद्रपुर छोटी भन्सार भित्रिने सरसामान अहिले पुनः अवैध नाका प्रयोग गरी व्यापारी तथा कारोबारीले भित्राउँन थालेका छन् ।भन्सार छलेर नेपाल भित्राइने तस्करीको सामानमा स्थानीय प्रहरीले समेत व्यापारी तथा कारोबारीलाई साथ दिएको स्थानीयको दावी छ ।
भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ र रजनीगंन्धा , कपडा , खाद्यान्नको तस्करी भइरहेको पुष्टि भएको हो । भद्रपुरका नाम चलेका कारोबारीले समेत ड्युटीमा खटिएका प्रहरीलाई पटके चार हजार दिएर सामान भित्र्याउँदै आइरहेको एक कारोबारीले बताए । भद्रपुरको घोडामारा, गणेश मन्दिर, देवीबस्ती, मसानघाट, चाचा बगान, डाँगीबारी, मेचीपारि, राजगढलगायतको क्षेत्रबाट तस्करी मौलाएको छ ।
तस्करले भारत भक्सरभिट्टाका रिज्वान, किनु ,नेमुगुडीका चाँद मोहमद्ले नेग्राडुब्बा ,कुटी,सोनापिण्डी, तारबारी, खट्कटी, कादोगाउँ लगायतका भारतीय नाका प्रयोग गरि मेचीनदी सम्म सामान ल्याउने काम गर्दै आएका छन् । मेचीनदी पार गराएबापत प्रतिपोका एक हजार रुपैया उनिहरुले पाउँछन् । पार गराएको सामानलाई नेपाल तर्फका सम्बन्धित व्यापारीले जिम्मा लिइ वडा प्रहरीका घुमुवालाई खुसी पारेर कारोबारीले आफ्नो गोदाममा सामान ल्याउने गरेका छन् ।कारोबारीले कागज मिलाएर विर्तामोड,दमक, इटहरी धरान, काठमाडौ सम्म सामान पुर्याउने गरेका छन् ।
भद्रपुरमा तीनवटा समूह बनाएर आफनो क्षमता अनुसार दायाँवायाँबाट काम गरिरहेको पाइएको छ ।सीमा क्षेत्रका नाका चोरी तस्करीका लागि सहज बन्दै जाँदा सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार बढ्दै गएपछि भन्सार राजश्व प्रभावित हुन थालेको छ ।भारतीय बजारबाट नेपाल भित्रने व्यापारिक सामग्रीहरू भन्सारको बैध बाटो भन्दा अबैध बाटोबाट भित्रन सहज बन्दै जाँदा झापाका विभिन्न नाकाहरू तस्कर मैत्री बन्दै गएपछि राजश्व संकलनमा कमी हुन थालेको हो ।
चोरी तस्करी नियन्त्रणका लागि परिचालित पुलिस प्रशासन तस्करको सेटिङमा अलमलिँदा छोटी भन्सार नाकाहरू राजश्व छल्ने प्रमुख केन्द्र बन्न थालेका छन् । भद्रपुर भन्सार अनर्तगतका केचना, घेरावारी, पिण्डालवारी, टागनडुब्बा लगायत नाका राजश्व छलीका लागि सहज बन्ने गरेका छन् ।बडा प्रहरी कार्यालय भद्रपुरबाट दुई जना घुमुवा आर्थिक संकलनका लागि नै परिचालन गरिएको भन्सारका एक कर्मचारीले बताए ।




