सात दिन भित्र विवरण बुझाउन गहवामाई, गीता मन्दिर र महावीर मन्दिरमा महानगरले पठायो पत्र

सात दिन भित्र विवरण बुझाउन गहवामाई, गीता मन्दिर र महावीर मन्दिरमा महानगरले पठायो पत्र

वीरगंज महानगरपालिकाले यहाँका धार्मिक आस्थाका केन्द्रहरूमा देखिएको बेथितिको जाँचबुझ गर्न आवश्यक विवरण माग्दै ती धार्मिक केन्द्रहरूलाई पत्र पठाएको छ।

महानगर प्रमुख राजेशमान सिंहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै धार्मिक केन्द्रहरूको सञ्चालनमा पारदर्शिता नभएको र आर्थिक व्यवस्थापनमा अनियमितता हुनसक्ने आशंका व्यक्त गर्नु भएको थियो । उहाँले धार्मिक स्थलहरूको सुशासन, पारदर्शिता र कानुनी व्यवस्थापन सुनिश्चित गर्न कदम चाल्नु आवश्यक रहेको बताउनुभएको छ ।

यसै सन्दर्भमा, महानगरपालिकाले वीरगंजमा रहेका मठ, मन्दिर, चैत्य, गुम्बा, मस्जिदलगायत धार्मिक संस्थाहरूलाई ७ दिनभित्र आवश्यक विवरण बुझाउन पत्र काटेको छ । पत्रमा मन्दिर तथा धार्मिक स्थलहरूको सञ्चालक समिति गठन प्रक्रिया, समितिको विस्तृत विवरण, मन्दिर दर्ताको प्रमाणपत्र, दर्ता भएको निकाय, मन्दिरको विधान, आम्दानी/खर्च विवरण, बैंक स्टेटमेन्ट, खाता नम्बर र सम्बन्धित बैंकको नाम पेश गर्न अनुरोध गरिएको छ ।

महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकारका अनुसार, धार्मिक सम्पदाहरूको पारदर्शी व्यवस्थापनका लागि महानगरले विशेष ऐन समेत तयार पारेको छ । उहाँका अनुसार, गहवामाई मन्दिर, महावीर मन्दिर, गीता मन्दिर लगायतका प्रमुख धार्मिक केन्द्रहरूमा पत्र पठाइएको छ भने अन्य धार्मिक स्थलहरूको विवरण संकलनको तयारी भइरहेको छ ।

‘महानगरभित्र रहेका सबै सम्प्रदायका धार्मिक स्थलहरू पारदर्शी र व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्छ,’ ताम्राकारले भन्नुभयो, ‘त्यसैले हामी कडाइका साथ यस प्रक्रियालाई अघि बढाइरहेका छौं ।’

यो कदमले वीरगंजका धार्मिक स्थलहरूलाई आर्थिक र प्रशासनिक रूपमा व्यवस्थित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । साथै, श्रद्धालुहरूको विश्वासलाई मजबुत बनाउँदै धार्मिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने महानगरको योजना रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close