
नेपाल ईन्जिनियरस् एसोसिएसन (NEA) को संसोधित विधान २०७५ को परिच्छेद ५, दफा १६ (४) अनुसार, वीरगञ्ज केन्द्रको पहिलो कार्यकारिणी समितिको निर्वाचन २०८२ साल साउन ३० गते शुक्रबारको दिन हुने निश्चित भएको छ। पर्सा, बारा, रौतहट र सर्लाही जिल्लालाई समेट्ने यस केन्द्रमा पहिलो पटक निर्वाचन हुन लागेको हो।
यस निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ। एक पक्षमा छवटा ईन्जिनियरिङ् संघसंस्था — CDEN, PEAN, SEN, NEON, SEAN, र EJU — मिलेर गठबन्धन बनाएका छन्, जसले “ईन्जिनियरिङ् एकता” को सन्देश मुलुकभर फैलाउने उद्देश्य लिएको छ। अर्कोतर्फ, NEAN (National Engineers’ Association Nepal) नामक समूहले स्वतन्त्र उम्मेदवारी दिइरहेको छ।
यद्यपि NEAN ले विगतमा NEA को दोस्रो र तेस्रो कार्यकारिणी समितिको नेतृत्व गरेको इतिहास छ, स्थानीय तहमा — विशेषतः वीरगञ्ज केन्द्रको सन्दर्भमा — उल्लेखनीय गतिविधि नभएको भन्दै आलोचना भइरहेका छन्। केही पूर्वसदस्यहरूले समेत संगठनप्रति असन्तुष्टि जनाएका छन्। एक ईन्जिनियर कृष्ण साहले सामाजिक सञ्जालमा भनेका छन्, *”NEAN मा मत हाल्नु भनेको फेरि ठगिनु हो।”* उता, NEAN तर्फबाट उम्मेदवारी दिएका एक सदस्यले अघिल्लो पटक यसै संस्थामा आबद्ध हुनु जीवनको “सबैभन्दा ठूलो गल्ती” रहेको बताएका थिए।
चासोको विषय के भने, NEAN को दर्ता संस्था “National Engineers’ Association Nepal Pvt. Ltd.” नामबाट सन् २०७७ साउन २६ गते नेपाल सरकार अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कम्पनी रजिष्ट्रारको कार्यालयमा Private Limited Company का रूपमा भएको खुलेको छ। यस संस्थाका ९ जना संस्थापक शेयरधनी रहेका छन्। यस तथ्यले संगठनको उद्देश्य र पारदर्शितामाथि थप प्रश्न उठाइरहेको छ।
अब मुख्य प्रश्न भनेको — वीरगञ्ज केन्द्रमा आवद्ध ईन्जिनियरहरूले विश्वास कसमा राख्ने? साझा एजेन्डा र ईन्जिनियरिङ् एकताको सन्देश बोकेको गठबन्धनमा? कि विगतमा नेतृत्वमा रहेर पनि सक्रियता नदेखाएको, निजी कम्पनीका रूपमा दर्ता रहेको संस्थाका उम्मेदवारहरूमा?
निर्णय अब मतदाताको हातमा छ। २०८२ साउन ३० गतेको मतदानले यी सबै प्रश्नको उत्तर दिनेछ।




