
वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा राज कुशवाहाले नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। शुक्रबार गाउँपालिकामा हाजिर भई उनले आफ्नो कार्यकाल सुरु गरेका हुन्।
यसअघि पर्साकै जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत कुशवाहाको सरुवापछि कालिकामाई गाउँपालिकामा आगमन भएको हो। पदभार ग्रहणका अवसरमा गाउँपालिकाका कर्मचारीहरूले उनको स्वागत गरेका थिए।
कार्यभार सम्हालेपछि गाउँपालिका सभाहलमा परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी बरैनसहित जनप्रतिनिधि तथा कर्मचारीहरूले गमछा र फूलमालाबाट प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै कुशवाहाले गाउँपालिकाको प्रशासनिक कामकाज नियम, पारदर्शिता र जिम्मेवारीका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। उनले जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य बढाउँदै विकास निर्माणका कार्यलाई गति दिने विश्वाससमेत व्यक्त गरे।
परिचयात्मक तथा स्वागत कार्यक्रममा वडाध्यक्षहरू लालबाबु चौरसिया, सोनालाल चौरसिया, संजय पटेल, संजय प्रसाद गोढलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।




