
भारत सरकारले नेपाललाई निर्वाचनसम्बन्धी सहयोगअन्तर्गत चौथो खेप सामग्री प्रदान गरेको छ। वीरगञ्जमा आयोजित कार्यक्रममा भारतको महावाणिज्य दूतावास, वीरगञ्जद्वारा आयोजित समारोहमा महावाणिज्य दूत शदेवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई उक्त सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

नेपालमा आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारको अनुरोधअनुसार उपहारस्वरूप प्रदान गरिएको यस चौथो किस्तामा ३० वटा एक टन क्षमताका ट्रक तथा अन्य आवश्यक सामग्री समावेश रहेका छन्।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दाहालले नेपाललाई समयमै निर्वाचनसम्बन्धी सहायता उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो।

यसअघि भारत सरकारले पहिलो तीन किस्तामार्फत ५८० भन्दा बढी सवारी साधन तथा अन्य सामग्री नेपाललाई हस्तान्तरण गरिसकेको जनाएको छ।
भारतीय पक्षले निरन्तर सहयोग र समर्थनले नेपाल–भारतबीचको बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारीलाई झल्काउने उल्लेख गर्दै यसले दुवै देशका जनताबीचको गहिरो पारस्परिक विश्वास र मित्रतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।





