
पर्सा — प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा सम्पन्न निर्वाचनपछि उम्मेदवार अनिल कुमार रुङ्टाले मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्दै पर्सा जिल्लाको विकास, समृद्धि र जनताको हितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
रुङ्टाले पर्सा–१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हरि पन्तलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। उनले लोकतान्त्रिक प्रक्रियामा जनताले दिएको जनादेशलाई आफूले सम्मानपूर्वक स्वीकार गरेको बताएका छन्।
“निर्वाचनको परिणाम जे भए पनि जनताको सेवा गर्ने मेरो संकल्प र प्रतिबद्धता कहिल्यै कमजोर हुने छैन,” उनले जारी गरेको सन्देशमा उल्लेख गरेका छन्।
निर्वाचन अभियानका क्रममा पर्सा क्षेत्रका जनताबाट आफूले अपार माया, विश्वास र समर्थन पाएको अनुभूति भएको उनले बताएका छन्। उक्त विश्वासले आफूलाई अझ जिम्मेवार बनाएको भन्दै उनले आगामी दिनमा जनताको सेवामा अझ दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
रुङ्टाले राजनीति आफूका लागि केवल जित–हारको विषय नभई जनताको आशा, विश्वास र भविष्यसँग जोडिएको दायित्व भएको उल्लेख गरेका छन्। त्यसैले पर्साको विकास, समृद्धि, सुशासन तथा जनताको हक–हितका लागि निरन्तर सक्रिय रहने उनले बताएका छन्।
“म पर्साको यही माटोको सन्तान हुँ, यहाँका जनताको सेवा गर्नु नै मेरो कर्तव्य हो,” उनले भनेका छन्। जनताको विश्वास र प्रेरणाले आफूलाई सधैं अगाडि बढ्ने ऊर्जा दिएको उल्लेख गर्दै उनले सधैं जनताको बीचमा रहेर उनीहरूको आवाज बन्ने प्रयास गर्ने बताएका छन्।
साथै उनले निर्वाचन अभियानमा साथ दिने सम्पूर्ण मतदाता, समर्थक, शुभेच्छुक तथा साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले पर्साको उज्ज्वल भविष्यका लागि आफ्नो तर्फबाट निरन्तर योगदान रहने पनि बताएका छन्।





