
वीरगंज महानगरपालिकाद्वारा स्थापित भोजपुरी प्रतिष्ठानले भोजपुरी भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। वीरगंजस्थित रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका साधकहरूलाई सम्मानित गरिएको हो।
प्रतिष्ठानका सल्लाहकार गोपाल अश्कको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले गहन छलफलपछि वर्ष २०८२ का लागि विभिन्न विधामा योगदान पुर्याएका व्यक्तित्वहरूको चयन गरेको थियो। सोही अनुसार पं. दीपनारायण मिश्र अन्तर्राष्ट्रिय पुरस्कार भारत, झारखण्ड राँची निवासी साहित्यकार कनक किशोरलाई प्रदान गरिएको छ। त्यस्तै उमाशंकर द्विवेदी राष्ट्रिय पुरस्कार बारा, कलैया उपमहानगरपालिकाका साहित्यकार राम प्रसाद साहलाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको थियो।
त्यसैगरी भोजपुरी राष्ट्रिय प्रतिभा पुरस्कारअन्तर्गत डा. शशिभूषण बरनवाल, मोतीउर रहमान, विकम साह, प्रतिमा चौधरी, गणेश परियार तथा लालमुनी देवी सम्मानित भएका छन् भने रोशन कुमार कलवारलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो। यी सबै पुरस्कारको राशि जनही ११ हजार रुपैयाँ रहेको थियो।
कार्यक्रमकी सभापति प्रतिष्ठानकी अध्यक्ष अनिता साह रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंह तथा विशिष्ट अतिथिका रूपमा मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको उद्घाटन चौमुख कलशमा दीप प्रज्वलन गरी गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले भोजपुरी भाषा र संस्कृतिको संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय सरकार सदैव भाषा, कला र संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहने स्पष्ट पार्दै प्रतिभाहरूको सम्मानले नयाँ पुस्तालाई समेत प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सांगीतिक प्रस्तुति तथा नृत्यले विशेष आकर्षण थपेको थियो। स्वागत मन्तव्य संस्थाका सल्लाहकार प्रमोद पाण्डेले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन माधुरी महतोले गर्नुभएको थियो।




