समुदाय–प्रहरी साझेदारी अन्तर्गत ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

समुदाय–प्रहरी साझेदारी अन्तर्गत ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

वीरगञ्ज महानगरपालिका–१३ स्थित पावरहाउसमा रहेको जी.एच.पी. स्कुलको सभाहलमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

स्कुलका प्रिन्सिपल रविन्द्र कौरको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा डीएसपी राजु कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रममा पर्सा ट्राफिक प्रमुख युवराज कटवालले विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरण सम्बन्धी अभिमुखीकरण गराएका थिए।

कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूको सहभागिता रहेको थियो। ट्राफिक सचेतनामूलक कार्यक्रममा सडक नियमको पालना, मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुने जोखिम (मापसे), ट्राफिक संकेत तथा चिन्हहरूको महत्व, सुरक्षित रूपमा सडक वारपार गर्ने तरिका लगायतका विषयमा जानकारी दिइएको थियो।

विशेषगरी मुख्य सडक आसपास बसोबास गर्ने तथा दैनिक रूपमा सडक ओहोरदोहोर गर्ने विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको आयोजकहरूले बताएका छन्। सडक दुर्घटनाबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न विद्यालयहरूमा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको र आगामी दिनमा अन्य विद्यालयहरूमा समेत कार्यक्रम विस्तार गरिने कार्यक्रम संयोजक युवा अभियन्ता दिलिप राज कार्कीले जानकारी दिए।

त्यसैगरी, स्कुलका सञ्चालक जगजित सिंहले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा ट्राफिक सचेतना अभिवृद्धि हुनुका साथै सुरक्षित यात्राको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा विद्यार्थीहरूले ट्राफिक नियम सम्बन्धी जिज्ञासा राखेका थिए भने ट्राफिक प्रहरीद्वारा व्यवहारिक जानकारीसमेत प्रदान गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close