
नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणको विषय फेरि चर्चामा आएको छ। यसै सन्दर्भमा गठित संघर्ष समितिले मंगलबार महासंघ पर्सा नेतृत्वलाई ज्ञापनपत्र बुझाउँदै तत्काल आवश्यक प्रक्रिया अघि बढाउन माग गरेको हो।
समितिका संयोजक अनुप तिवारीले विधानविपरीत ढंगले सदस्यता लिएका तथा पत्रकारितासँग असम्बन्धित व्यक्तिहरूमाथि छानबिन गरी सदस्यता खारेज गर्नुपर्ने बताएका छन्। उनले सक्रिय र योग्य पत्रकारहरूलाई भने महासंघको सदस्यताबाट वञ्चित नगर्न आग्रह गरेका छन्।
ज्ञापनपत्रमार्फत समितिले तीन दिनभित्र सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरण प्रक्रिया अघि नबढाए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ।
समितिले महासंघको गरिमा जोगाउन विधान, विधि र पद्धतिअनुसार निष्पक्ष निर्णय आवश्यक रहेको उल्लेख गरेको छ। साथै, २०७२ सालमा पूर्वअध्यक्ष सत्रुधन नेपालको संयोजकत्वमा बनेको कार्यदलले तय गरेका मापदण्डलाई आधार मानी विगतमा गरिएको शुद्धीकरण अभियानलाई निरन्तरता दिनुपर्ने माग पनि गरिएको छ।
वीरगञ्जस्थित महासंघ कार्यालयमा पुगेर अध्यक्ष ओमप्रकाश खनाललाई ज्ञापनपत्र बुझाइएको कार्यक्रममा संघर्ष समितिका सहसंयोजक शेखर छतकुल्लीसहित आशिक अन्सारी, लालकिशोर सिंह, राम कुशवाहा, राजेन्द्र सिंह, सन्तोष पटेल, बलिराम यादवलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा महासंघ पर्साका उपाध्यक्ष भुषण यादव, कोषाध्यक्ष संजीव कुमार मिश्र तथा सहसचिव एस.के. चौरसिया पनि उपस्थित थिए।



