
शिशुको स्वास्थ्य, पोषण तथा स्तनपान प्रवर्द्धनलाई प्रभावकारी बनाउन आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री तथा वितरण नियन्त्रणसम्बन्धी कानुनी व्यवस्थाबारे सरोकारवाला निकायलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय पर्साको आयोजनामा सम्पन्न कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री तथा वितरण नियन्त्रण ऐन, २०४८ तथा नियमावली, २०५१ सम्बन्धी जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा शिशु पोषण, स्तनपानको महत्व, स्तनपान प्रवर्द्धन तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा जन्मपछिको पहिलो बाक्लो दूध अर्थात् बिगौती (पहेंलो/पहिलो) दूध शिशुका लागि अत्यन्त महत्वपूर्ण हुने विषयमा विशेष जोड दिइएको थियो। विशेषज्ञहरूले उक्त दूधमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक तत्व रहने भएकाले यसले शिशुलाई संक्रमण तथा विभिन्न रोगबाट बचाउन सहयोग गर्ने जानकारी दिएका थिए। साथै शिशुको पाचन प्रणालीले सजिलै पचाउन सक्ने पोषक तत्व पर्याप्त मात्रामा हुने भएकाले जन्मपछिको प्रारम्भिक स्तनपानलाई विशेष महत्व दिनुपर्ने बताइएको थियो।
अभिमुखीकरणका क्रममा स्तनपानका सिफारिस गरिएका व्यवहार, स्तनपान गराउने सही आसन, बच्चासँग सम्पर्क स्थापित गर्ने विधि, पुनः स्तनपान तथा स्तनपान प्रतिस्थापन गर्ने वस्तुसम्बन्धी कानुनी प्रावधानबारे जानकारी दिइएको थियो।

सहभागीहरूलाई बच्चालाई दूध खुवाउँदा बच्चाको शरीर सिधा राख्ने, मुख आमाको स्तनतर्फ फर्काउने, बच्चाको पेट आमाको पेटसँग जोडिने गरी राख्ने तथा टाउकोदेखि खुट्टासम्म शरीरलाई राम्रोसँग समर्थन गर्ने विधिबारे प्रशिक्षण दिइएको थियो। त्यस्तै बच्चाको मुख पूर्ण रूपमा खुला हुने, तल्लो ओठ बाहिर फर्किने, चिउँडोले स्तन छुने तथा स्तनको कालो भाग उचित रूपमा मुखभित्र पर्ने अवस्थालाई सही स्तनपान सम्पर्कका रूपमा जानकारी गराइएको थियो।
कार्यक्रममा आमाका लागि पनि स्तनपान लाभदायक हुने विषयमा जानकारी दिइएको थियो। स्तनपान गराउँदा पाठेघर खुम्चिन सहयोग पुग्ने, सुत्केरीपछिको अत्यधिक रक्तश्रावको जोखिम कम हुने तथा स्तनमा दूध जम्ने समस्याको सम्भावना घट्ने जानकारी सहभागीलाई दिइएको थियो।
साथै शिशुलाई जन्मेको केही समयमै आमाको दूध खुवाउने, आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित प्रचार–प्रसार तथा बिक्री वितरण नियन्त्रण गर्न कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको विषयमा पनि जोड दिइएको थियो।
कार्यक्रममा जनस्वास्थ्य प्रशासक स्वास्थ्य कार्यालय पर्साका निलरम्ब अधिकारी, स्वास्थ्य कार्यालय पर्साका अधिकृत धनी सिंह, अधिवक्ता मिनबहादुर श्रेष्ठ, जनस्वास्थ्य अधिकृत सुनिल कुमार साह, नेपाल प्रहरीकी इन्स्पेक्टर सोनी नेम्हाफुकी,पत्रकार आर.के. पटेल, नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ता, पोखरिया अस्पतालकी दिपिका कुमारी लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।




