बाराका छतवा–मुसहरवा नाकामा तस्करी मौलाएको आरोप, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको दबाब ?

बाराका छतवा–मुसहरवा नाकामा तस्करी मौलाएको आरोप, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको दबाब ?

बारा जिल्लाको सीमावर्ती क्षेत्र छतवा र मुसहरवा नाका पछिल्लो समय अवैध तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको आरोप उठेको छ। स्थानीयका अनुसार भारतबाट विभिन्न सामानहरू खुलेआम नेपाल भित्रिने क्रम बढ्दो छ, तर नियन्त्रणको जिम्मेवारी पाएको प्रहरी प्रशासन नै मौन बस्दा प्रश्नहरू झन् गम्भीर बनेका छन्।

स्थानीयको आरोप अनुसार इलाका प्रहरी कार्यालय प्रसौनी मातहत पर्ने छतवा र मुसहरवा नाकाबाट दैनिक रूपमा कपडा, हार्डवेयर, किराना, कुखुरा, सुर्तीजन्य वस्तु, जुत्ता–चप्पल, मोटरसाइकलका पार्टपुर्जा, काजु, किसमिस, चकलेट लगायतका सामग्री अवैध रूपमा नेपाल भित्रिने गरेको छ। स्थानीयहरू भन्छन्— “राजस्व चुहावट रोक्ने जिम्मेवारी बोकेको संयन्त्रकै संरक्षणमा तस्करी फस्टाइरहेको छ।”

स्थानीय स्रोतले प्रहरी निरीक्षक (इन्स्पेक्टर) टुपेन्द्र श्रेष्ठमाथि घुमुवा परिचालन गरेर तस्करहरूसँग ‘सेटिङ’ मिलाउने र आर्थिक असुली भइरहेको गम्भीर आरोप लगाएका छन्। आरोप अनुसार “मेरो आफ्नै ब्याची एसपी हो” भन्ने प्रभाव देखाएर मातहत संरचनामाथि दबाब सिर्जना गर्ने कामसमेत भइरहेको दाबी गरिएको छ।

प्रहरी प्रधान कार्यालयदेखि गृह प्रशासनसम्म सीमाक्षेत्रमा तस्करी नियन्त्रणको निर्देशन दिँदै आए पनि बारा जिल्लाका केही नाकामा भने त्यसको प्रभाव देखिन नसकेको स्थानीयको गुनासो छ। भारतीय बजार रक्सौलबाट रातको समयमा मोटरसाइकलमार्फत सामान भित्रिने क्रम तीव्र रहेको दाबी स्थानीयले गरेका छन्।

स्थानीय दाबी अनुसार विभिन्न समूहले कपडा, हार्डवेयर, किराना, दाल, मसला, सुर्तीजन्य सामग्री तथा अन्य व्यापारिक सामान निर्वाध रूपमा नेपाल भित्र्याइरहेका छन्। यसले एकातिर राज्यको राजस्वमा प्रत्यक्ष असर पारिरहेको छ भने अर्कोतर्फ कानुनी व्यवसाय गर्ने व्यापारीहरू समेत मारमा परेको बताइन्छ।

स्थानीयले छतवा चौकी र मुसहरवा क्षेत्रका सुरक्षाकर्मीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। केही प्रहरी कर्मचारीहरू ‘लाइन मिलाउने’ र तस्करी सहज बनाउने काममा संलग्न रहेको आरोप स्थानीयको छ। यद्यपि यी आरोपबारे सम्बन्धित प्रहरी अधिकारीहरूको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

यस्तै बारा जिल्लाका बलिमापुर र बरैनिया नाकाबाट समेत व्यापक तस्करी भइरहेको स्थानीयको दाबी छ। सीमावर्ती क्षेत्रमा बढ्दो अवैध कारोबार नियन्त्रण गर्न उच्चस्तरीय छानबिन, निगरानी वृद्धि र जिम्मेवार निकायको जवाफदेहिता आवश्यक देखिएको स्थानीयको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close