
पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ५ स्थित एक प्राथमिक विद्यालय अहिले राजनीति चपेटाको कारण विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । वडाध्यक्षदेखि पार्टीका नेता कार्यकर्ता एवं नगरपालिकाका मेयरसम्मको विद्यालयमा राजनीतिकरणले गर्दा विद्यालयमा विद्यार्थीहरुको भविष्य नै अन्धकारमा पर्ने देखिन्छ ।
ग्रामीण क्षेत्रका बालबालिकाहरुलाई शिक्षा हासिल गर्न सदरमुकाम वीरगंज धाउनुपर्ने बाध्यतालाई न्यूनीकरण हुने उद्देश्य सहित वि.स. २०६२ सालमा पोखरिया नगरपालिका वडा नं. ५ सतवरिया स्थित श्री राधाकृष्ण नेपाल राष्ट्रिय प्राथमिक विद्यालय विद्यालय संचालन गरिएको छ । विद्यालय संचालनदेखि हदसम्म पढाई हुँदै आएकोमा स्थानीय तहको मातहतमा विद्यालय आएदेखि राजनीतिकरणको चपेटामा परेको कारण बालबालिकाको भविष्य भन्दा पनि विद्यालयको भविष्य नै अन्यौलमा परेको छ ।
स्थानीय तहका जनप्रतिनिधहरुले आफ्नो पायक पर्ने शिक्षकलाई ल्याउने र कायकर्तालाई भर्ति गर्ने कार्यले गर्दा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविष्य अन्धकारमा पर्ने स्थानीयहरु चिन्तित भएका छन् । कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयमा जम्मा १ सय ८७ जना विद्यार्थीहरु अध्ययनरत छन् तर उपस्थिति भने ३० देखि ३५ प्रतिशत मात्रै । त्यसमा पनि विद्यार्थीहरुलाई बस्नको लागि बेन्च छैन, बालबालिकाहरु भुइँमै बसेर अध्ययन गर्ने गरेका छन् ।
१ सय ८७ जना विद्यार्थीहरुलाई अध्यापन गराउनका लागि २ जना राहत, १ जना बालविकास तथा १ जना कार्यालय सहयोगी कार्यरत रहँदै आएकोमा हाल ४ जना कर्मचारी थपिएका छन् । अहिले निम्न माध्यमिक तहका स्थायी शिक्षक लालबाबु प्रसाद चौहान प्रधानाध्यापक भएर विद्यालयमा हाजिर भएका छन् तर उनले एक्लै होइन, थप ३ जना कर्मचारीलाई सँगै लिएर गएका छन् ।
पहिलाकै ४ जना शिक्षकहरु अध्यापन गराउँदै आएकोमा अहिले १ जना स्थायी शिक्षक, २ जना कार्यालय सहयोगी सहित ८ जना कर्मचारी छन् ।
प्रधानाध्यापक चौहान पनि त्यही वडाका बासिन्दा हुन् । आफ्नै ठाउँको विद्यालयमा आएर शिक्षाको गुणस्तरीय बढाउनुको सट्टा आफूले पुच्छर समातेको नेताको आशिर्वादमा प्रधानाध्यापक भएर आएकोेले उनको इसारामा विद्यालयमा कार्यकर्ता भर्ने कार्यलाई तिब्रता दिएका छन् ।
प्रधानाध्यपाक चौहानले वडा नं. ५ का वडाध्यक्ष महिन्द्र महतो चाँईको निर्देशनमा विना कुनै नियम प्रक्रिया पुरा गरि ३ जना कर्मचारीलाई विद्यालयमा काम गराई रहेका छन् । न कुनै सूचना, न कुनै नियुक्ति, सिधै कक्षा कोठामा आएर बालबालिकालाई अध्यापन गराउने र कार्यालय सहयोगीले खाजा बनाउने, पानी ल्याउने काम गरि रहेको छ । विना कुनै जानकारी विद्यालयमा ४ जना कर्मचारी थपिएपछि स्थानीयहरुले विरोध गरेका छन् । वडाध्यक्षको इसारामा प्रधानाध्यापकले कुनै नियम प्रक्रिया नै पुरा नगरी शिक्षकलाई अध्यापन गराउन लगाएको स्थानीय संजय कुमार साहले जानकारी दिए ।
उनका अनुसार विद्यालयमा शिक्षकको आवश्यकता रहेकोले नियम प्रक्रिया पुरा गरि शिक्षक भर्ना गर्नुपर्ने बताए । वडाध्यक्षको निर्देशनमा हावा तालमा जो सुकै व्यक्ति पनि आएर विद्यालयमा अध्यापन गराउने कार्यले भोलिको दिनमा विवाद हुन सक्ने र कार्यकर्ता भर्ति केन्द्रको रुपमा परिणत हुने भएकोले यसलाई तत्काल सच्याउनुपर्ने माग गरे । शिक्षको आवश्यकता रहेकोले प्रअ चौहान वडाध्यक्षलाई भनेर २ जना शिक्षक र २ जना स्वयसेवकलाई पठाउन लगाएको कार्य नियमसंगत नरहेको र यसले दीर्घकालीन समस्याको समाधान पनि नहुने भएकोले नियम प्रक्रिया पुरा गरि शिक्षक भर्ना गर्नुपर्ने अथवा नगरपालिकासँग माग गर्नुपर्ने बताए ।
विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने मनसाय नै छ भने गाउँभेला गरेर कुनै ठोस निर्णय गरि मात्रै अगाडि बढ्नुपर्ने बताए । नत्र वडाध्यक्षले जो सुकैलाई पठाउँदैमा आएर अध्यापन गराउने कार्य बन्द हुनुपर्ने बताए । यहाँका अधिकाँश नागरिकहरुको बालबालिकाहरु शिक्षा हासिल गर्नका लागि वीरगंज धाउनु परेकोले गाउँघरका विद्यालयहरुमा गुणस्तरीय शिक्षाको व्यवस्था गर्नुपर्ने बताए ।
यसैगरि अर्का स्थानीय अब्द्वेयल आलमले विद्यालयमा निःशुल्क सेवा दिने नाममा पार्टीका कार्यकर्ताहरुलाई भर्ति गर्ने कार्य भएकोले यसलाई तत्काल रोक्नुपर्ने माग गरे । उनले प्रधानाध्यापक चौहान विद्यालयमा हाजिर भएको एक महिना नवित्दै विद्यालयमा निःशुल्क सेवा दिने व्यक्तिहरुको घुइँचो लागेको व्यङ्गयात्मक प्रतिक्रिया दिए । यहाँसम्म कि निःशुल्क सेवा दिने कार्यालय सहयोगीहरुको पनि लाइन लागेको बताए । उनले यस विद्यालयको अवस्था असाध्यै दयनीय रहेको र त्यसमा पनि राजनीतिकरण बढेकोले विद्यालयको भविष्य नै अन्कारमय बनेको बताए ।
यसबारे विद्यालयका प्रधानाध्यापक लालबाबु प्रसाद चौहानले आफू यही माघ ३ गतेबाट कार्यभार सम्हालेकोले विस्तारै विद्यालयको समस्यालाई सुधार गर्दै जाने बताए । उनले दरबन्दी अनुसार १ जना स्थायी, २ जना राहत तथा १ जना बालविकास तथा १ जना कार्यालय सहयोगी कार्यरत रहँदै आएकोमा गाउँघरकै थप २ जना व्यक्तिले अध्यापन गराई रहेको र १ जना कार्यालय सहयोगीले खाजा बनाउने कार्य गरि रहेको स्वीकारे ।
उनले हाल कार्यरत व्यक्तिहरुको कुनै नियुक्ति नभएको र अनुभव बटुल्नको लागि र विद्यायलाई सहयोग गर्ने उद्देश्यले उनीहरु विद्यालयमा अध्यापन गराउँदै आएको बताए । विद्यालयमा श्रमदान गर्न ३ जना व्यक्तिहरु कार्यरत रहेको तर विवाद उत्पन्न भएको चाँडै नियम प्रक्रिया पुरा गरि शिक्षक भर्ना गरिने बताए । #birgunjtimes