वाणिज्य कार्यालय र खाद्य प्रविधिको संयुक्त टोलीद्वारा डेरी फ्रेस उद्योगमा अनुगमन

वाणिज्य कार्यालय र खाद्य प्रविधिको संयुक्त टोलीद्वारा डेरी फ्रेस उद्योगमा अनुगमन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, पर्सा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त टोलीले बजार अनुगमनलाई निरन्तरता दिँदै वीरगञ्ज महानगरपालिका–१५, लक्ष्मनवा स्थित डेरी फ्रेस उद्योग तथा वडा नं. १७ स्थित फ्रेस पूजा घ्यू प्रोडक्ट मा अनुगमन गरेको छ।

अनुगमनका क्रममा उद्योगहरूमा उत्पादन तथा बिक्री वितरण भइरहेका दुग्धजन्य सामग्रीको गुणस्तर, सरसफाइ, लेबलिङ तथा मापदण्ड सम्बन्धी विषयमा निरीक्षण गरिएको थियो। टोलीले आवश्यक मापदण्डको पूर्ण पालना गर्न उद्योग पक्षलाई निर्देशनसमेत दिएको जनाएको छ।

अनुगमनमा सहभागी एक सदस्यका अनुसार फ्रेस पूजा घ्यू प्रोडक्ट मा अनुगमन गर्दा कुनै विशेष त्रुटि फेला परेन। बजारमा बिक्री भइरहेका दुग्धजन्य पदार्थको गुणस्तर तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अनुगमन गरिएको जनाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरीक्षण टोली संयोजक जगत प्रकाश चौधरी, सदस्य श्रवण कुमार साह, वाणिज्य कार्यालयका तर्फबाट मधुरेश प्रसाद साह, उपभोक्ता प्रतिनिधि प्रकाश कुमार शाह, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सहसचिव एस.के. चौरसिया तथा पत्रकार बैजु झा लगायतको विशेष उपस्थितिमा अनुगमन सम्पन्न भएको थियो।

उद्योग सञ्चालक राजाबाबु चौरसिया ले फ्रेस पूजा घ्यू प्रोडक्ट विशेषगरी पूजा–पाठमा प्रयोग हुने तथा डेरी फ्रेस उद्योगबाट उत्पादित घ्यू खान योग्य र गुणस्तरीय रहेको जानकारी दिए।

अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै बजार अनुगमनलाई निरन्तरता दिइने बताएको छ। साथै उद्योग तथा व्यवसायीलाई खाद्य ऐन तथा नियमअनुसार उत्पादन र बिक्री वितरण गर्न आग्रह गरिएको छ।

निरीक्षण अधिकृत सुनिल चौरसिया का अनुसार संयुक्त अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close