
पर्सा, जेठ ११ । नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै गठित संघर्ष समितिले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय तथा मधेश प्रदेश समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
संघर्ष समितिका संयोजक अनुप तिवारीले महासंघका केन्द्रीय सचिव अशोक तिवारी तथा मधेश प्रदेश अध्यक्ष श्याम बन्जारालाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझ्दै केन्द्रीय सचिव तिवारीले संघर्ष समितिले उठाएका मागप्रति केन्द्र सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। उनले सदस्यता शुद्धीकरण अभियान केन्द्रको पनि प्राथमिकतामा रहेको बताउँदै पर्सामा भइरहेको आन्दोलनप्रति साथ र सहयोग रहने उल्लेख गरे।
पर्सामा निष्क्रिय तथा विवादित सदस्यलाई छानबिनको दायरामा ल्याउने विषयमा समेत केन्द्रको सहयोग रहने केन्द्रीय सचिव तिवारीको भनाइ थियो।

यसैबीच, संघर्ष समितिले मधेश प्रदेश अध्यक्ष बन्जारालाई पनि ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझ्दै प्रदेश अध्यक्ष बन्जाराले पर्सा शाखाको वर्तमान कार्यसमितिलाई सदस्यता शुद्धीकरणको विषयमा तत्काल बैठक बसी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। उनले जिल्लाबाट सर्वसम्मत रूपमा नाम सिफारिस गर्नुपर्नेमा जोड दिए।
सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित कार्यक्रममा संघर्ष समितिका सह–संयोजक शेखर छतकुली, सदस्यहरू लालकिशोर सिंह, वीरेन्द्र साह ‘हिटलर’, राजेन्द्र सिंह, सन्तोष पटेल, कृष्णा कुशवाहा, मनोजकुमार मिश्रलगायतको सहभागिता रहेको थियो।
यसैगरी संघर्ष समितिका संयोजक अनुप तिवारीले आन्दोलनको कार्यक्रमअन्तर्गत मंगलबारदेखि नेपाल पत्रकार महासंघ पर्सा शाखाको मूल गेटमा धर्ना कार्यक्रम सुरु हुने जानकारी दिएका छन्। उनका अनुसार मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना कार्यक्रम सञ्चालन हुनेछ।



