नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४८२ लाभान्वित तथा सहकार्य सम्झौता

नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४८२ लाभान्वित तथा सहकार्य सम्झौता

पर्साकाे सखुवाप्रसाैनी गाउँपालिका वडा न. २ श्रीपुर पञ्चगावामा नि:शूल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ।
सखुवा प्रसौनी गाउँपालिका, पर्साको समन्वय, पर्सा ख्रिष्टियन समाज, वीरगञ्जको आयोजना तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्जको प्राविधिक सहयोगमा श्री दीप नारायण आदर्श नमुना माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हाे।

​शिविरबाट ४ सय ८२ जना बिरामीहरूले स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएको पर्सा ख्रिष्टियन समाजका कोषाध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिनुभयो।

​शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति रोग र जनरल मेडिसिन सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो। बिरामीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शका साथै आवश्यक औषधि समेत नि:शुल्क वितरण गरिएको नेशनल मेडिकल कलेजका मार्केटिङ म्यानेजर जितेश चन्द्र दासले जानकारी दिनुभयो। यसका साथै शिविरमा रक्तचाप, मधुमेह, नाडी परीक्षण, तौल मापन, इसिजी र ईको लगायतका आधुनिक परीक्षण सेवाहरू समेत उपलब्ध गराइएको थियो।

​शिविरको महत्त्वबारे प्रकाश पार्दै सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले भन्नुभयो, “ग्रामीण क्षेत्रका नागरिकहरूलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने हाम्रो लक्ष्य हो। यस किसिमका शिविरले आर्थिक रूपमा विपन्न र अस्पतालसम्म पुग्न नसकेका नागरिकहरूलाई ठूलो राहत मिलेको छ। आगामी दिनमा पनि कलेज र समाजसँग मिलेर स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी कामहरू गर्नेछौँ।”

​त्यस्तै, नेशनल मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. अशरफ हुसेनले शिविरको अनुभव साट्दै भन्नुभयो, ​”ग्रामीण क्षेत्रमा अझै पनि मुटुरोग र अन्य जटिल स्वास्थ्य समस्याबारे चेतनाको कमी देखिन्छ। शिविरमा धेरै बिरामीहरूमा बेलैमा रोग पहिचान गर्न सहज भएको छ। कलेज सधैँ यस्ता सामाजिक र मानवीय सेवाका कार्यहरूमा प्राविधिक सहयोग गर्न तत्पर रहनेछ।”

​यस विशेष अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र सखुवा प्रसौनी गाउँपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। साथै, नेशनल मेडिकल कलेज र पर्सा ख्रिष्टियन समाजबीच पनि छुट्टै स्वास्थ्य सहकार्य सम्झौता गरिएको छ।

​शिविरमा सहभागी भएका बिरामीहरूलाई नेशनल मेडिकल कलेजमा थप उपचार गराउँदा २० प्रतिशतसम्म विशेष छुट दिने सहमति भएकाे छ।

​कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट, स्वास्थ्य शाखा प्रमुख राजेश प्रसाद रौनियार, विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद चाैधरी लगायतके सहभागिता रहेको थियो। त्यस्तै पर्सा ख्रिष्टियन समाजका अध्यक्ष सिमोन राईकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन कोषाध्यक्ष राम प्रसाद घिमिरेले गर्नुभएकाे थियाे।

शिविरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको तर्फबाट प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, क्वालिटी तथा अपरेशन म्यानेजर ब्रज किशोर चौधरी र मार्केटिङ म्यानेजर जितेश चन्द्र दास उपस्थित हुनुहुन्थ्यो। शिविरमा मुटुरोग विशेषज्ञ डा. अशरफ हुसेन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रवि कुमार साह तथा जनरल फिजिसियन डा. प्रवेज आलम अन्सारी लगायतको टोलीले बिरामीहरूको स्वास्थ्य जाँच गरेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close