बनिनसक्दै भत्किने संकेत ! देवाहीको कालोपत्रे सडक विवादमा, सरकारी निकायमाथि प्रश्न

बनिनसक्दै भत्किने संकेत ! देवाहीको कालोपत्रे सडक विवादमा, सरकारी निकायमाथि प्रश्न

देवाही गोनाही नगरपालिका–४ स्थित रामजानकी मठदेखि इमलिया टोलसम्म निर्माण भइरहेको कालोपत्रे सडकको गुणस्तरमाथि स्थानीयवासीले गम्भीर प्रश्न उठाएका छन्। सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरमार्फत नेपाल सरकारअन्तर्गत सञ्चालित उक्त योजनामा व्यापक अनियमितता भएको आशंका स्थानीयले गरेका छन्।

स्थानीयका अनुसार निर्माणस्थलमा न त योजना सूचना बोर्ड राखिएको छ, न लागत विवरण सार्वजनिक गरिएको छ, न ठेकेदार कम्पनीको नाम नै स्पष्ट रूपमा देखाइएको छ। सार्वजनिक निर्माण कार्यमा पारदर्शिता अनिवार्य हुने सरकारी मापदण्डको उल्लङ्घन भएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

यस विषयमा स्थानीय बासिन्दा रुपेश पटेलले आक्रोश व्यक्त गर्दै भने,
“काम सुरु भयो, तर योजना बोर्ड छैन, लागत विवरण छैन, ठेकेदारको नामसमेत लुकाइएको छ। आखिर नेपाल सरकारको निगरानीमा बन्ने योजनामा यस्तो लापरबाही किन ?”

स्थानीयले सडक डिभिजन कार्यालयका केही कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको आशंका गर्दै गुणस्तरहीन काम भइरहेको आरोप लगाएका छन्। कालोपत्रे सडकको सतह कमजोर देखिएको, मापदण्डअनुसार सामग्री प्रयोग नगरिएको तथा निर्माण प्रक्रियामा पारदर्शिता नदेखिएको उनीहरूको दाबी छ।

रोचक कुरा त के छ भने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर सन्जय यादवले समेत निर्माण कार्यप्रति आफू पूर्ण रूपमा सन्तुष्ट नरहेको सार्वजनिक रूपमा बताएका छन्। प्राविधिक कर्मचारीकै असन्तुष्टि बाहिरिएपछि योजनाको गुणस्तर र सरकारी अनुगमन प्रणालीमाथि थप प्रश्न उठेको छ।

यसैबीच उक्त सडकको गुणस्तरहीन निर्माणसम्बन्धी भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। भिडियोमा कालोपत्रे तह कमजोर देखिएको भन्दै स्थानीयले सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराइरहेका छन्।

स्थानीय बासिन्दाले नेपाल सरकार तथा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरलाई तत्काल स्थलगत अनुगमन गरी दोषीमाथि कारबाही गर्न, साथै निर्माण कार्यलाई मापदण्डअनुसार पुनः सञ्चालन गर्न माग गरेका छन्।

स्थानीयको प्रश्न छ “जनताको करबाट बन्ने सडक हो कि कसैको कमिसन जोगाउने परियोजना ?” अहिले यही प्रश्नले देवाही गोनाहीमा विकासभन्दा बढी असन्तुष्टि र आक्रोश बढाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close