
पर्सा पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गाउँसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा गाउँपालिका उपाध्यक्ष ममता महतोले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि तथा सरसफाइलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्। “स्थानीय स्रोत, स्थानीय रोजगारी–एक गाउँ, एक उद्यम, एक पहिचान, हाम्रो अभियान” भन्ने मूल नारालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा नागरिकको आवश्यकता सम्बोधन गर्दै समावेशी, दिगो तथा प्रतिफलमुखी विकासलाई प्रवर्द्धन गर्ने, न्यून स्रोतबाट अधिकतम उपलब्धि हासिल गर्ने तथा कार्यान्वयनयोग्य योजनालाई प्राथमिकता दिने लक्ष्य लिइएको छ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले चालु आर्थिक वर्षमा हासिल भएका उपलब्धिबारे जानकारी दिँदै गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएको बताए। मधेश प्रदेशका गाउँपालिकामध्ये पहिलो पटक निर्माण गरिएको उक्त अस्पतालमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह भइरहेको उनले जानकारी दिए। अस्पतालमा आधुनिक प्रयोगशाला, भिडियो एक्स–रे, दन्त तथा आयुर्वेद सेवा समेत उपलब्ध रहेको जनाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले प्रस्तुत बजेट तथा नीति–कार्यक्रमले गाउँपालिकाको दिगो विकास, सुशासन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सरसफाइ तथा रोजगारीका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गरिएको बताए।
उनका अनुसार बजेट कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितालाई विशेष महत्व दिइनेछ। गाउँसभाबाट पारित भएपछि निर्धारित कार्यक्रमहरू समयमै सम्पन्न गरी नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यान्वयन गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
त्यसैगरी, एनएसआईसँगको सम्झौतापछि आगामी साउनदेखि ईसीओ तथा शल्यक्रिया सेवा सञ्चालनमा ल्याइने तथा लागूऔषध दुरुपयोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
वडा अध्यक्ष विजय गिरीले गाउँपालिकाको समग्र विकासका लागि सबै पक्षबीच साझा अवधारणा र सहकार्य आवश्यक रहेको बताउँदै नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
गाउँपालिकाले संघीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, विशेष तथा समपूरक अनुदान, सशर्त अनुदान, आन्तरिक स्रोत तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानमार्फत बजेट व्यवस्थापन गर्ने जनाएको छ। प्रस्तुत बजेटमाथि छलफलपछि गाउँसभाबाट पारित गरिनेछ।




