वीरगञ्जमा सजी सुरहरूको महफिल, राजेश पाण्डेको गीतमा झुमे संगीतप्रेमी

वीरगञ्जमा सजी सुरहरूको महफिल, राजेश पाण्डेको गीतमा झुमे संगीतप्रेमी

वीरगञ्ज। भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र भारतको महावाणिज्य दूतावास, वीरगञ्जको संयुक्त आयोजनामा आइतबार साँझ आदर्शनगरस्थित टाउन हलमा विशेष सुगम संगीत कार्यक्रम आयोजना गरिएको छ।

प्रसिद्ध भारतीय गायक राजेश पाण्डे र उनको सात सदस्यीय टोलीले गीत, गजल, भजन तथा सूफी संगीत प्रस्तुत गर्दै उपस्थित संगीतप्रेमीलाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रमको शुभारम्भ भारतका महावाणिज्यदूत देवी सहाय मीणा, पर्साका सांसद हरि पन्त, मधेश प्रदेशसभा सदस्य वीणा शर्मा र गायक राजेश पाण्डेले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा सशस्त्र प्रहरी बल, वीरगञ्जका प्रहरी उपरीक्षक मोहन क्षेत्रीको समेत उपस्थिति रहेको थियो।

संगीतले बलियो बनाउँछ नेपाल–भारत सम्बन्ध : देवी सहाय मीणा

कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्यदूत देवी सहाय मीणाले नेपाल र भारतबीचको सम्बन्ध कूटनीतिक सम्बन्धमा मात्र सीमित नभई सदियौँ पुरानो सामाजिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्धमा आधारित रहेको बताए।

उनले संगीत र संस्कृतिले मानिसलाई जोड्ने सबैभन्दा सहज र प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यस्ता सांस्कृतिक कार्यक्रमले दुवै देशका कलाकार तथा नागरिकलाई एक–अर्काको संस्कृति बुझ्ने र आपसी आत्मीयता बढाउने अवसर प्रदान गर्ने बताए।

नेपाल र भारतको साझा सांस्कृतिक विरासतले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो।

राजेश पाण्डेको प्रस्तुतिले बाँध्यो माहोल

राजेश पाण्डे र उनको टोलीको प्रस्तुतिका क्रममा टाउन हल पटक–पटक तालीको गडगडाहटले गुञ्जायमान भएको थियो। लोकप्रिय गीतसँगै गजल, भजन तथा सूफी संगीतका प्रस्तुतिले दर्शकको मन जितेका थिए।

कलाकारहरूको उत्कृष्ट प्रस्तुतिमा संगीतप्रेमीले उत्साहपूर्वक ताली बजाउँदै साथ दिएका थिए। सुर र संगीतले भरिएको उक्त साँझमा नेपाल–भारत सांस्कृतिक मैत्रीको सुन्दर झलक देखिएको थियो।

कार्यक्रमले कला, संगीत र संस्कृतिले नेपाल र भारतबीच जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने सन्देशसमेत दिएको थियो।

कार्यक्रममा भारत विकास परिषद्, रक्सौल शाखाका सेवा संयोजक तथा मिडिया प्रभारी बिमल कुमार सर्राफ, नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ता,पूनम सर्राफ, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, प्रिया सिंह, गुड्डी जोशी, प्रसिद्धि आनन्द सिंह, अभिषेक चौधरी, राधेश्याम खेतान, जयप्रकाश खेतानलगायत स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यवसायी, कला तथा संगीतप्रेमी र नेपाल–भारत मैत्रीमा आबद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनीष दाससहित अजय जैन, चन्दन श्रीवास्तव तथा अन्य कर्मचारीहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close