‘हमही लेके जाएम माई के बहंगिया’ छठ गीत आज साँझ सार्वजनिक गर्दै पत्रकार पटेल

‘हमही लेके जाएम माई के बहंगिया’ छठ गीत आज साँझ सार्वजनिक गर्दै पत्रकार पटेल

लोकआस्था, श्रद्धा र लोकसंस्कृतिको महापर्व छठको पावन अवसरमा नेपाल पोष्ट मिडिया प्रा.लि.ले आफ्नो दोस्रो छठ गीत ‘हमही लेके जाएम माई के बहंगिया’ आज (सोमबार) साँझ औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ।

छठ पर्वको धार्मिक तथा सामाजिक महिमालाई उजागर गर्ने उद्देश्यले तयार पारिएको उक्त गीतको सम्पूर्ण छायाङ्कन सम्पन्न भइसकेको भिडियो निर्देशक सन्तोष साहले जानकारी दिए। उनका अनुसार छठ पर्वको पवित्रता, आस्था र भावनालाई जीवन्त रूपमा प्रस्तुत गर्न वीरगञ्ज तथा आसपासका विभिन्न स्थानमा विशेष मेहनतका साथ भिडियो छायाङ्कन गरिएको हो।

छठको मौलिक परम्परा, पूजाविधिको पवित्रता तथा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिने आध्यात्मिक भावनालाई दृश्यमा उतारिएकाले गीत दर्शक तथा भक्तजनमाझ लोकप्रिय हुने विश्वास निर्देशक साहले व्यक्त गरे।

उक्त गीतमा वीरगञ्जका पत्रकार मनोज पटेल र किरण राजको सुमधुर स्वर रहेको छ। गीतका शब्द मनोज पटेलले लेखेका हुन् भने सङ्गीत मुन्ना मुस्कानले दिएका छन्।

यसअघि सार्वजनिक गरिएको छठ गीत ‘हाली हाली उग हो सुरुज देव’ ले दर्शक तथा सङ्गीतप्रेमीबाट व्यापक प्रशंसा र माया पाएपछि उत्साहित हुँदै यस वर्ष दीपावली तथा छठ पर्वको शुभकामनास्वरूप नयाँ गीत ल्याउन लागिएको पत्रकार पटेलले बताए।

गीतको भावबारे जानकारी दिँदै गीतकार तथा गायक पटेलले रोजगारीका सिलसिलामा घरभन्दा टाढा रहेका श्रीमान्लाई समयमै घर फर्किएर छठ पूजामा सहभागी हुन अनुरोध गरिएको बताए। गीतमार्फत पारिवारिक माया, छठप्रतिको आस्था, लोकपरम्परा र सामाजिक सद्भावलाई प्रस्तुत गर्न खोजिएको उनको भनाइ छ।

गीतको भिडियोमा बबिता पटेल, पत्रकार विनोद पटेल, सन्ध्या साह, अमिता पटेल र मनोज पटेलको अभिनय देख्न सकिनेछ। कृष्णाको छायाङ्कन तथा जावेद हवारीको सम्पादन र मिश्रण रहेको उक्त गीत आज सोमबार साँझ नेपाल पोष्ट डेलीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने भिडियो निर्देशक साहले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close