
वीरगन्ज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहबीच भव्य उद्घाटन गरिएको छ। वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले धर्मशाला भवनको विधिवत् उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले स्थानीय समुदायका सामाजिक, धार्मिक तथा सांस्कृतिक गतिविधिलाई सहज बनाउन धर्मशालाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नगरवासीको आवश्यकता र विकास निर्माणका कार्यलाई महानगरपालिकाले प्राथमिकतामा राखेर निरन्तर काम गरिरहेको बताउनुभयो।
उद्घाटन कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मियाँ तेली, वडा सदस्य अब्दुल लतिफ अंसारी, सामुदायिक सेवा समितिका अध्यक्ष ग्यासुदिन ठकुराईलगायत स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले धर्मशाला निर्माण भएपछि वडावासीलाई विभिन्न सामाजिक, धार्मिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज हुने भन्दै खुसी व्यक्त गरेका थिए।



