
वीरगन्ज । भारतको महावाणिज्यदूतावास, वीरगन्जको आयोजनामा बुधबार ‘आयुर्वेद दिवस’ मनाइएको छ। ‘स्वस्थ भोलिका लागि आयुर्वेद’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा आयुर्वेदको महत्व, स्वस्थ जीवनशैली तथा परम्परागत चिकित्सा पद्धतिको उपयोगिताबारे चर्चा गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगन्जका लागि भारतका महावाणिज्यदूत डी. एस. मीनाले आयुर्वेद मानव जीवनलाई स्वस्थ र सन्तुलित बनाउन महत्वपूर्ण भूमिका खेल्ने परम्परागत चिकित्सा पद्धति भएको बताउनुभयो। उहाँले आयुर्वेद रोगको उपचारमा मात्र सीमित नभई स्वस्थ जीवनशैली, उचित खानपान र प्राकृतिक उपचार पद्धतिसँग समेत जोडिएको उल्लेख गर्नुभयो।
महावाणिज्यदूत मीनाले आयुर्वेदसम्बन्धी ज्ञान र अभ्यासलाई नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताउँदै नेपाल र भारतबीच सदियौँदेखि रहँदै आएको सांस्कृतिक तथा चिकित्सकीय सम्बन्धलाई थप सुदृढ बनाउन आयुर्वेदले समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका डा. शिवनारायण गुप्ताले आयुर्वेद उपचार पद्धतिले रोग लागेपछि उपचार गर्ने मात्र नभई रोगबाट बच्न र शरीरलाई स्वस्थ राख्नसमेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले दैनिक जीवनमा उचित खानपान, नियमित दिनचर्या, योग तथा प्राकृतिक जीवनशैली अपनाउन सके धेरै स्वास्थ्य समस्याबाट बच्न सकिने उल्लेख गर्नुभयो।
डा. गुप्ताले आयुर्वेदको वैज्ञानिक पक्षमा थप अध्ययन तथा अनुसन्धान गरी यसको प्रचार–प्रसारलाई व्यापक बनाउनुपर्ने बताउँदै आधुनिक स्वास्थ्य प्रणालीसँग समन्वय गरेर आयुर्वेदलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा भारतको महावाणिज्यदूतावास, वीरगन्जका कन्सुल मनीष दास, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका डा. शिवनारायण गुप्ता, डा. महारुद्र ठाकुर, डा. पुनीता केशरी, डा. राहुल विक्रम शाह, डा. मनीष शाह, समाजसेवी सन्जय अग्रवाल, नेपाल पत्रकार महासंघ पर्साका सदस्य तथा नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य राहुल कुमार गुप्तालगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी चिकित्सकहरूले आयुर्वेदको महत्व, दैनिक जीवनमा यसको प्रयोग, प्राकृतिक उपचार पद्धति तथा स्वस्थ जीवनशैलीका विषयमा जानकारी गराएका थिए। उनीहरूले आयुर्वेदलाई आधुनिक स्वास्थ्य प्रणालीसँग समन्वय गर्दै यसको प्रभावकारी प्रयोगलाई विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सहजीकरण भारतको महावाणिज्यदूतावास, वीरगन्जका कन्सुल (ईसीसी) मनीष दुधपुरीले गर्नुभएको थियो।




