वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा प्रहरीको एक्सन, १९ वर्ष कैद सजाय तोकिएका दुई फरार प्रतिवादी पक्राउ

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा प्रहरीको एक्सन, १९ वर्ष कैद सजाय तोकिएका दुई फरार प्रतिवादी पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिएको छ। अभियानअन्तर्गत ठगी तथा संगठित अपराध मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईको निर्देशनमा फरार प्रतिवादी पक्राउ अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ।

विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६, इनर्वा क्षेत्रबाट दुई फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २९ वर्षीय वीर नारायण चौरसिया र सोही स्थानका २४ वर्षीय राज नारायण चौरसिया रहेका छन्।

प्रहरीका अनुसार उनीहरू दुवै जनालाई ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अदालतबाट १९ वर्ष कैद र कुल १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। अदालतबाट सजाय तोकिएपछि उनीहरू फरार रहँदै आएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार विशेष सूचनाका आधारमा इनर्वा क्षेत्रमा खोजतलास तथा निगरानी बढाएर उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूलाई पक्राउ गर्न वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो। परिचालित टोलीले खोजतलास तथा निगरानीका क्रममा दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close