विजयकुमार सरावगीले त्यागे एमाले, रास्वपा प्रवेशको चर्चाबीच वीरगञ्जको राजनीतिमा नयाँ तरङ्ग

विजयकुमार सरावगीले त्यागे एमाले, रास्वपा प्रवेशको चर्चाबीच वीरगञ्जको राजनीतिमा नयाँ तरङ्ग

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्वप्रमुख विजयकुमार सरावगीले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सरावगी प्रवेश गर्ने विषयमा व्यापक चर्चा चलिरहेका बेला उनले आफ्नै फेसबुक पृष्ठमार्फत एमाले परित्याग गरेको सार्वजनिक जानकारी दिएका हुन्।

सरावगीले फेसबुकमा लेखेका छन्, “सबै समुदायमा नमस्ते। आजको मितिदेखि म नेकपा एमालेको साधारण सदस्य नरहने गरी सम्पूर्ण जिम्मेवारी परित्याग गरेको कुरा सम्पूर्णमा जानकारी गराउँदछु।”

सरावगीको यो घोषणासँगै वीरगञ्जको राजनीतिक वृत्तमा उनको आगामी राजनीतिक यात्राबारे चासो बढेको छ। यसअघि उनी रास्वपामा प्रवेश गरेको खबर सार्वजनिक भएको थियो। उक्त खबरसँगै रास्वपाको सदस्यता नम्बरसमेत उल्लेख गरिएको भए पनि त्यसबारे रास्वपा वा स्वयं सरावगीले औपचारिक पुष्टि गरेका थिएनन्।

एमाले परित्यागको घोषणा गरे पनि सरावगीले आफ्नो फेसबुक वक्तव्यमार्फत आगामी राजनीतिक गन्तव्यबारे केही खुलाएका छैनन्। रास्वपा प्रवेशको चर्चाबीच आएको उनको पछिल्लो घोषणाले उनी अब कुन राजनीतिक दलमा आबद्ध हुन्छन् वा कुन राजनीतिक धार रोज्छन् भन्ने विषयमा थप चासो बढाएको छ।

सरावगी यसअघि तत्कालीन सङ्घीय समाजवादी फोरमबाट वीरगञ्ज महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। पछि उनी जनता समाजवादी पार्टीबाट अलग हुँदै २०७८ सालमा नेकपा एमालेमा प्रवेश गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close