डीएसपी सुवास भट्टलाई ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कार

वृद्धा हत्या तथा लुटपाट र बन्धक घटनाको सफल अनुसन्धान गरेको योगदानको कदर

चितवन । चितवनको इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास भट्ट ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित भएका छन्।

प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले डीएसपी भट्टलाई पुरस्कार प्रदान गर्दै सम्मान गरेका हुन्।

फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक निष्ठा र निरन्तर समर्पण प्रदर्शन गरेको योगदानको कदर गर्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

भट्टको नेतृत्वमा पूर्वी चितवनमा एक वृद्धाको हत्या तथा लुटपाट र नवलपरासीमा एक व्यक्तिलाई बन्धक बनाइएको घटनाको सफल अनुसन्धान भएको थियो। जटिल प्रकृतिका घटनाको अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गरेका भट्ट यसअघि २०८२ फागुनमा बागमती प्रदेशकै सर्वोत्कृष्ट प्रहरीसमेत घोषित भएका थिए।

गोरखा घर भएका भट्टले २०७० सालदेखि प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। अपराध अनुसन्धानमा दक्षता र व्यावसायिक क्षमता प्रदर्शन गर्दै आएका भट्टको योगदानलाई प्रहरी दिवसका अवसरमा उच्च मूल्याङ्कन गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close