
भारतबाट राजस्व छलेर नेपाल भित्र्याइएको आशंका गरिएको ३२ लाख रुपैयाँभन्दा बढी मूल्यको माछासहितको एउटा मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको टाटा कम्पनीको सेतो–कालो रङको मालवाहक ट्रक रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा उक्त ट्रकमा ९६ क्यारेट माछाको मात्र भन्सार प्रज्ञापनपत्र रहेको तर ट्रकमा आवश्यक कागजातमा उल्लेख गरिएको परिमाणभन्दा ४४ क्यारेट माछा बढी लोड गरिएको पाइएको प्रहरीले जनाएको छ।
त्यसपछि प्रहरीले माछासहितको ट्रक र चालक वीरगन्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय रवि कुमार साहलाई नियन्त्रणमा लिएको थियो।
प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार बरामद माछा र ट्रकको गरी कुल ३२ लाख ११ हजार ३९२ रुपैयाँ मूल्याङ्कन गरिएको छ।
नियन्त्रणमा लिइएको ट्रक, माछा र चालकसम्बन्धी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बिहीबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।



