
वीरगंज । बारा जिल्लाका विभिन्न सीमा नाकाबाट तस्करी भइरहेको र त्यसमा प्रहरी कर्मचारीकै मिलेमतो रहेको आशंका सार्वजनिक हुन थालेको छ। जिल्ला प्रहरी कार्यालय बाराले नाकामा कडा निगरानी राखिएको तथा तस्करी नियन्त्रणका लागि अभियान सञ्चालन भइरहेको दाबी गरिरहे पनि विभिन्न नाकाबाट बेला–बेला सार्वजनिक हुने तस्बिर तथा भिडियोले प्रहरी प्रशासनको दाबीमाथि प्रश्न उठाएको छ।
यस प्रकरणमा जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत घुमुवा प्रहरीको जिम्मेवारीमा रहेका प्रहरी जवान फुलसरिफ गद्दी र हवल्दार वीरसम्सेर पटेलको नामसमेत जोडिएको जनाइएको छ । सीमा क्षेत्रमा हुने गतिविधि निगरानी तथा अवैध कारोबार नियन्त्रण गर्नुपर्ने जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीमाथि नै तस्करी र कथित नजराना असुलीमा संलग्न रहेको आरोप लागेपछि प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठेको हो।
प्राप्त विवरण तथा स्थानीय स्तरमा उठेका आरोपअनुसार छातवा, मटिअर्वा, कचोर्वा र कवही दरबारलगायतका मुख्य तथा सहायक नाका बाट विभिन्न सामानको अवैध ओसारपसार हुने गरेको दाबी गरिएको छ। कारोबारको प्रकृति र परिमाणअनुसार हजारदेखि लाखौँ रुपैयाँसम्म नजराना बुझाउने गरिएको आरोपसमेत छ।
यसमा भोला बटर (ओमप्रकाश र निरज), सदाम कपडा, प्रेम काजु, कमलेश झुल, सियाराम, अरुण कपडा, अरमान चप्पल, खेना कपडा, अरविन्द कस्मेटिक र मास्टर कपडालगायतका नाम कारोबारसँग जोडेर चर्चा गरिएको छ। सियाराममार्फत अजयको समूहले लाखौँ रुपैयाँको कारोबार गर्ने तथा मोटो रकम बुझाउने गरेको आरोपसमेत लगाइएको छ।
त्यस्तै, प्रहरी जवान फुलसरिफ गद्दी मुस्हरवा नाकामा कार्यरत रहँदा प्रहरी सहायक निरीक्षक (सई) को विश्वास जितेका व्यक्ति रहेको बताइन्छ। त्यसपछि जिल्लामा आउँदासमेत उनलाई सँगै राखिएको चर्चा छ। अहिले गद्दी र हवल्दार पटेल दुवै घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको बताइएको छ। उनीहरूको जिम्मेवारी र कार्यक्षेत्रबारे पनि स्पष्टता आवश्यक देखिएको छ।
तस्करीको आरोप कपडा, चप्पल, काजु र कस्मेटिक सामग्रीमा मात्र सीमित नरहेको बताइन्छ। ट्रान्सपोर्ट, किराना सामान, माछा तथा फलफूलको ओसारपसारमा समेत अनियमितता हुने गरेको आरोप छ। यसका अतिरिक्त नेवतन क्षेत्रमा जुवातास सञ्चालन भइरहेको विषयसमेत चर्चामा आएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले नाका कडा निगरानीमा रहेको र तस्करीविरुद्ध अभियान सञ्चालन गरिएको दाबी गर्दै आएका छन्। तर, विभिन्न सीमा नाकाबाट सार्वजनिक भइरहेका तस्बिर तथा भिडियो र स्थानीय स्तरमा उठिरहेका आरोपले प्रहरीको दाबी र सीमाक्षेत्रको वास्तविक अवस्थाबीच अन्तर रहेको आशंका जन्माएको छ।
सीमा क्षेत्रमा अवैध कारोबार नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी संयन्त्रमाथि नै मिलेमतो र आर्थिक लेनदेनको आरोप लाग्नु गम्भीर विषय हो। घुमुवा प्रहरीको जिम्मेवारीमा रहेका कर्मचारीको नामसमेत जोडिएपछि उनीहरूको कार्यसम्पादन, जिम्मेवारी र सम्भावित साँठगाँठबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ।
उल्लेखित प्रहरी कर्मचारी, व्यापारी तथा समूहसँग सम्बन्धित आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। सम्बन्धित व्यक्तिहरूको प्रतिक्रिया र जिल्ला प्रहरी कार्यालय बाराको आधिकारिक धारणा सार्वजनिक हुनु आवश्यक छ।




