
वीरगञ्ज । अवैध हुण्डी कारोबार नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी संगठनकै कर्मचारीहरू १६ लाख रुपैयाँको कथित हुण्डी प्रकरणमा मुछिएपछि जिल्ला प्रहरी कार्यालय पर्साभित्र खैलाबैला मच्चिएको छ। भारतबाट हुण्डीको रकम लिएर नेपाल प्रवेश गरेका दुई युवक पक्राउ परेको भनिए पनि उनीहरूलाई कानुनी प्रक्रियामा नलगी आर्थिक चलखेलमा छाडिएको आशंकाले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ।
प्राप्त स्रोतका अनुसार मंगलबार भारतको अदापुरबाट मोटरसाइकलमा सवार कलवार थरका दुई युवक १६ लाख रुपैयाँ नगद बोकेर नेपाल प्रवेश गरेका थिए। नेपाल प्रवेश गरेलगत्तै प्रहरी चौकी इनर्वामा कार्यरत एक प्रहरी कर्मचारीले उनीहरूलाई उक्त रकमसहित नियन्त्रणमा लिएको बताइएको छ।
तर, पक्राउ परेका भनिएका युवकहरूलाई कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालयमा बुझाउनुको सट्टा आर्थिक चलखेलमा छाडिएको आशंका गरिएको छ। युवकहरू छुटेपछि रकमको खोजी गर्दै सम्बन्धित व्यक्तिहरू जिल्ला प्रहरी कार्यालय पर्सा पुगेको र रकमको अवस्थाबारे सोधपुछ हुन थालेपछि प्रकरण थप पेचिलो बनेको स्रोतको दाबी छ।
घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले प्रहरी चौकी इनर्वाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सम्शुदिन अन्सारी र अध्यागमन कार्यालयमा कार्यरत असई सन्दीपकुमार साहलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएका थिए। दुवैलाई नियन्त्रणमा राखेर घटनाबारे सोधपुछ तथा अनुसन्धान गरिएको स्रोतको भनाइ छ।
१६ लाख रुपैयाँ कहाँ गयो ? पक्राउ परेका युवकहरू कसरी छुटे ?
यो प्रकरणमा अहिले सबैभन्दा गम्भीर प्रश्न यही हो। यदि प्रहरीले दुई युवकलाई १६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो भने उक्त रकमको अभिलेख कहाँ छ ? बरामद गरिएको हो भने बरामदी मुचुल्का किन सार्वजनिक गरिएको छैन ? पक्राउ परेका भनिएका युवकहरूलाई कुन आधारमा र कसको आदेशमा छाडियो ? दुई प्रहरी कर्मचारीको भूमिका के थियो ?
यी प्रश्नको जवाफ प्रहरी प्रशासनले दिनुपर्ने हुन्छ। हुण्डी नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीमाथि नै यस्तो गम्भीर आशंका उत्पन्न हुनु सामान्य विषय होइन।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता चक्रबहादुर मल्लसँग प्रतिक्रिया माग्दा उनले उक्त रकम क्रिप्टो कारोबारसँग सम्बन्धित रहेको दाबी गरे। उनका अनुसार प्रहरीलाई देख्नेबित्तिकै सम्बन्धित व्यक्तिहरूले पैसाको झोला फालेर भागेका थिए। प्रहरी चौकीका इन्चार्जहरूले घटनाबारे समयमै जानकारी नगराएकाले उनीहरूलाई जिल्ला बोलाएर सोधपुछ भइरहेको उनको भनाइ थियो।
तर, प्रवक्ता मल्लको यो जवाफले घटनालाई थप रहस्यमय बनाएको छ। एकातिर स्रोतले दुई युवकलाई १६ लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको र पछि आर्थिक चलखेलमा छाडिएको दाबी गरिरहेको छ भने अर्कोतिर प्रहरी प्रवक्ताले रकमको झोला फालेर सम्बन्धित व्यक्तिहरू भागेको बताइरहेका छन्। आखिर वास्तविकता के हो ?
यदि रकम क्रिप्टो कारोबारसँग सम्बन्धित थियो भने त्यसको पुष्टि गर्ने आधार के हो ? रकम बरामद भएको हो भने त्यसको कानुनी अभिलेख कहाँ छ ? दुई युवक पक्राउ परेका थिए वा थिएनन् ? पक्राउ परेका थिए भने उनीहरू अहिले कहाँ छन् ? घटनाबारे माथिल्लो निकायलाई समयमै जानकारी किन गराइएन ?
प्रहरीभित्रै घटना सामसुम पार्ने प्रयास भएको आशंका
यस प्रकरणको अनुसन्धानलाई आर्थिक चलखेलमार्फत प्रभावित पार्ने र घटनालाई भित्रभित्रै मिलाएर सामसुम पार्ने प्रयास भइरहेको आशंकासमेत एक प्रहरी स्रोतले व्यक्त गरेको छ। यद्यपि, यस दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
सामान्य नागरिक पक्राउ पर्दा तत्काल सार्वजनिक सूचना जारी गर्ने र कानुनी कारबाहीको विवरण सार्वजनिक गर्ने प्रहरी प्रशासन आफ्नै संगठनका कर्मचारीमाथि १६ लाख रुपैयाँसँग जोडिएको गम्भीर आरोप लाग्दा स्पष्ट जवाफ दिन किन हिचकिचाइरहेको छ ?
दुई असईलाई बोलाएर सोधपुछ गर्नु मात्र पर्याप्त हुँदैन। १६ लाख रुपैयाँको वास्तविक अवस्था, घटनामा संलग्न व्यक्तिहरूको भूमिका र पक्राउपछि भएको भनिएको गतिविधिबारे निष्पक्ष अनुसन्धान गरी तथ्य सार्वजनिक गर्न आवश्यक छ।
प्रहरी संगठनको साखसँग जोडिएको यो प्रकरणमा जिल्ला प्रहरी कार्यालय पर्साले दोषीलाई उन्मुक्ति होइन, प्रमाणका आधारमा कारबाही गरेर आफ्नो जवाफदेहिता प्रमाणित गर्नुपर्ने चुनौती खडा भएको छ।




