
यातायात व्यवस्था कार्यालय वीरगंजको लेखा फाँटमा हुदै गरेको राजस्व दम्पचको भ्रष्टाचारजन्य कार्यहरु बारे यस अनलाईनले प्रमाण सहित पटक–पटक समाचार प्रकाशन गर्दा श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले छुटा–छुटै कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।
मन्त्रालयले मन्त्रालयका तत्कालिन उप–सचिव धनन्जय कुमार सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिको सदस्यहरुमा श्रम तथा यातायात मन्त्रालयका तत्कालिन लेखा अधिकृत उपेन्द्र यादव, शाखा अधिकृत सुनिल साह, कानुन अधिकृत उर्मिला रोक्का र अर्थ मन्त्रालयका राजस्व अधिकृत सुदर्शन भट्टराई रहेका थिए ।
गठित समितिको नेतृत्वकर्ता धनन्जय कुमार सिंहले वीरगंज यातायात कार्यालयमा पटक–पटक आई छानबिन प्रक्रिया अगाडि बढाएका थिए । तर, वर्तमान बरिष्ठ उप–सचिव तथा यातायात व्यवस्था कार्यालय वीरगंजका कार्यालय प्रमुख समेत रहेका उनै असंक्षम धनन्जय कुमार सिंह मन्त्रालयका निमित्त प्रदेश सचिव रंजित कुमार यादवको मिलोमतोमा दोषीहरुको प्रभावमा परी कारवाही प्रक्रिया रोकी छानबिन प्रतिवेदन सार्वजनिक नै गरेनन् ।
त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले पटक–पटक वीरगंज यातायातमा आएर राजस्व दम्पच सम्बन्धि केही आवश्यक कागजातहरु लगेर कारवाही प्रक्रिया सुरु गरेको थियो । सो कारवाही प्रक्रिया कछुवाको तालमा अगाडि बढाएको हो कि ? मन्त्रालय जस्तै तामेली गरेको हो ? सचेत नागरिकहरुले प्रश्न गरिरहेका छन् ।
यता, लेखा प्रमुख दिनेश प्रसाद पण्डित र कार्यालय सहयोगी रमेश पटेलले मन्त्रालय जस्तै अख्तियारलाई पनि प्रभावमा पारी कारवाही प्रक्रिया बन्द गराएको आफ्ना निकटवर्तीहरु सँग चियाको चुस्की सँगै गफ लगाउने गरेको समाचार स्रोतको भनाई रहेको छ । वीरगंजको लेखा फाँटमा बसेर निवर्तमान लेखा प्रमुख दिनेश प्रसाद पण्डित, तत्कालिन लेखा प्रमुख उपेन्द्र यादव, हालसम्म कार्यरत्त रहेका करारका कार्यलय सहयोगी रमेश पटेल र उमेश दासको मिलोमतोमा करोडौं राजस्व दम्पच गरिएको ती समाचार स्रोतको भनाई रहेको छ ।
दैनिक करिब ५ लाख राजस्व दम्पच गर्दै आएका निवर्तमान लेखा प्रमुख दिनेश प्रसाद पण्डित, तत्कालिन लेखा प्रमुख उपेन्द्र यादव, हालसम्म कार्यरत्त रहेका करारका कार्यलय सहयोगी रमेश पटेल र उमेश दासको मिलोमतोमा राजस्व दम्पच गरिएका थप प्रमाणहरु बाहिर छताछुल्ल हुन पुगेको हो ।
निवर्तमान लेखा प्रमुख दिनेश प्रसाद पण्डितको निर्देशनमा कार्यालय सहयोगी रमेश पटेलले ना ४ ख ३२६१ को सवारीमा आर्थिक वर्ष २०८२/०८३ मा मिति २०८२/९/२९ गतेका दिन प्राविधिक प्रतिवेदन बिना (रंग परिवर्तन) हेरफेर जरिवाना न्युनतम ७०५० राजस्व दम्पच गरेका हुन् । त्यसैगरी तत्कालिन लेखा प्रमुख उपेन्द्र यादवको निर्देशनमा कार्यालय सहयोगी रमेश पटेलले नै ना ५ ख ४९६२ को सवारीमा आर्थिक वर्ष २०८१/०८२ मा मिति २०८१/४/३२ गतेका दिन प्राविधिक प्रतिवेदन बिना नै (रंग परिवर्तन) हेरफेर जरिवाना दस्तुर न्युनतम ७०५० राजस्व दम्पच गरेका हुन् ।
(रंग परिवर्तन) हेरफेर जरिवानाको न्युनतम दस्तुर प्रति सवारी ७०५० र बढीमा १५००० लिन सकिने यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा व्यवस्था रहेकोले सो जरिवाना कति लिने हो ? मुख्य काम प्राविधिकको रहेको हुनाले प्राविधिक प्रतिवेदन बिना नै प्राविधिकलाई थाहै नदिई सेवाग्रहीहरु सँग रमेश पटेलले हेरफेर दस्तुर लिए पनि हेरफेर जरिवानाको राजस्व नकाटी सो राजस्व दम्पच गरिएको VRSले पुष्टि गरेको छ ।यातायात व्यवस्थापन कार्यविधि निर्देशिका अनुसार लेखा प्रमुख कर निर्धारण समितिका प्रमुख रहने प्रावधान रहेको हुनाले निवर्तमान लेखा प्रमुख पण्डित र तत्कालिन लेखा प्रमुख यादवको प्रत्यक्ष निर्देशनमा लेखा शाखामा कार्यरत्त कार्यालय सहयोगी रमेश पटेल र उमेश दास मार्फत सरकारको राजस्व दम्पच गर्ने गरिएको थियो ।
कुनै पनि सेवाग्रहीहरुलाई कर तिर्नु छ भने उनले नियमानुसार अनुसूची ११ फारम भर्नु पर्ने यातायात निर्देशिकामा व्यवस्था रहेको छ । सो कर फारममा एक जना यकिन गर्नेको सही रहने व्यवस्था छ भने अर्को रुजु गर्ने फाँटवालाको सही रहने व्यवस्था रहेको छ । जुन सवारीमा कर दम्पच गर्ने योजना हुन्छ त्यसको अनुसूची ११ फारम च्यातेर फालिने प्रवृति रहेको बताईन्छ ।
हिसाब किताब मिलान गर्ने भनि राखिएका कार्यालय सहयोगी उमेश दासको सहजिकरणमा कार्यालय सहयोगी रमेश पटेलले कैयौं लेखनदास तथा बिचौलियाहरु सँग दर्जनौ गाडीहरुको रकम म बैंकमा अनलाईन बुझाई दिन्छु भन्दै कैयौं सँग एकमुष्ट नगद र कैयौं सँग आफ्नो खातामा मगाई केही गाडीहरुको रकम बुझाई केहीको नगदी रसिदमा अर्कै सेवाग्रहीहरुको भौचर नम्बर लेखि नगदी रसिद काटी सरकारको राजस्व दम्पच गर्ने गरिएको बताईन्छ ।
भ्रष्ट प्रवृतिका निवर्तमान लेखा प्रमुख दिनेश पण्डित र तत्कालिन लेखा प्रमुख उपेन्द्र यादवको निर्देशनमा कार्यालय सहयोगी उमेश दासको सहजिकरणमा रमेश पटेलले नगदी रसिद काटी लाखौ लाख राजस्व दम्पच गरेका दर्जनौ VRS प्रमाणहरु यस अनलाईन सँग सुरक्षित रहेको छ । कछुवाको तालमा कारवाही प्रक्रिया अगाडि बढाईरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही प्रक्रियालाई थप प्रभावकारी बनाउन राजस्व दम्पच भएको थप VRS प्रमाणहरु मागेको खण्डमा उपलब्ध गराउन प्रतिबद्ध छौं। सभार :- Pardafas Daily



