कोरोनाका कारण नेपालमा थप ३ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट नेपाल थप ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगन्ज, जनकपुरको शहीदनगर, बाराको फेटाका गरी ३ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पर्साको वीरगन्ज महानगरपालिका–१० निवासी ६५ वर्षीय पुरुषको आइतबार कोरोनाका कारण मृत्यु भएको हो ।

भारतका स्थायी बासिन्दा उनको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मधुमेह र मुटुसम्बन्धी रोगबाट ग्रसित थिए ।

यस्तै, धनुषाको शहीदनगर नगरपालिका–८ डुमरिया निवासी ३६ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको पनि आइतबार मृत्यु भएको हो ।

ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार प्रादेशिक अस्पताल जनकपुरको इमर्जेन्सीमा भर्ना भएका उनलाई थप उपचारका लागि आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै उनको मृत्यु भएको हो ।

बाराको फेटा गाउँपालिका–३ निवासी ६० वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको साउन १२ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा मृत्यु भएको हो ।

उनी निमोनिया, मस्तिस्कघात र मिर्गौलासम्बन्धी रोगबाट ग्रसित रहेका जनाइएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close