सिंघाही र भेडाहा खोला उत्खननमा रोक

ठेकेदारद्वारा भेडाहा खोला तथा सिंघाही खोलाबाट गिट्टी, बालुवा, ढुङ्गा नियमविपरीत उत्खनन गरेको भन्दै स्थानीय प्रशासनले हिजोदेखि रोक लगाएको छ।

चालू आवमा महानगरभित्र पर्ने भेडाहा र पर्सागढी नगरपालिकामा पर्ने सिंघाही खोला टेन्डर सकार गर्दा शर्त बमोजिम गिट्टी, बालुवा, ढुङ्गा उत्खनन नगरेको भन्दै रोक लगाएको अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्मद अन्सारीले जानकारी गराए। उनका अनुसार खोलाबाट मेशिन प्रयोग नगरी तोकिएको ठाउँबाट मापदण्ड अनुसार गिट्टी, बालुवा झिक्न पाउने शर्तविपरीत ठेकेदारले मेशिन प्रयोग गरी खोलाको चरम दोहन गरेको पाइएपछि तत्कालको लागि उत्खननमा रोक लगाएको उनले बताए।

खोलाबाट जथाभावी बालुवा, गिट्टी झिक्दा वनमा प्रतिकूल असर परेको र सयौं रूख नष्ट भएको गुनासो आएपछि उत्खनन गर्न रोक लगाएको उनले बताए।

पालिकाबाट ठेक्का सकार गर्नुअघि पूर्व सहमति पालना गर्ने प्रतिबद्धता नगरेसम्म ठेकेदारहरूलाई गिट्टी, बालुवा झिक्न नदिने अन्सारीको भनाइ छ। अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, प्रहरी उपरीक्षकद्वय बेलबहादुर पाण्डे, राजेन्द्र खड्कालगायत संलग्न थिए।eprateek daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close