
नेपाल रहे रहन्छ जाती नेपाली नेपाल
लेखक:- सुरज थापा
कहां हो घर के पर्यो थर के तिम्रो चिन्हारी
के तिम्रो भाषा के पर्यो जाती बाहुन कि किराती
मदेशी हौ कि पहाडी तिमी कि शेर्पा मगराती
कि नेवाः थारु पो हौ कि तिमी के पर्यो चिन्हारी ।
ऊ त्यहीं पर छ मेरो घर त्यो पारी पाखामा
बरपिपल जोडी चौतारी सानो त्यसैको काखमा
मास्तिर अग्ला आकाश चुम्ने सेताम्मे हिमाल
तल्तिर हिउं पग्लेर बग्छन् हिमनदी बिशाल ।
हो त्यहीं नेर छ मेरो घर ढुंगाले चिनेको
गारोमा छ्यापी कमेरो सेतो टलक्क टल्केको
खरले छाको कराले पाखो बाकटे छानो छ
त्यही हो मेरो दरबार तर हेर्नमा सानो छ ।
नजाती लाग्यो के जाती भन्दा किन पो सोध्यौ नि
जातिय द्वेष फैलाई देश मास्न पो लाग्यौ कि
म जाती कुनै मगराती हैन न बाहुन किराती
मन मेरो रुन्छ मुटुमा छुन्छ नसोध के जाती
जातिय नारा दिएर सारा देशमा विपत्ती
ल्याएर देशै समाप्त पार्ने कसैको कुदृष्टि
परेको छ कि बेलैमा सोचे पुर्याए विचार
रहला देश वित्यास पर्ला मासिए नेपाल ।
विदेशी कोही पसेको छ कि स्वदेशी भेषमा
स्वदेशी कोही लागेको छ कि फिरंगी सोचमा
उक्साई जाती यो देश मास्ने वैरीको विचार
पो हो कि साथी वित्यास पर्ला मासिए नेपाल ।
नेपाल रहे रहन्छ जाती नेपाली नेपाल
नरहे देश रहन्न जाती रहन्न नेपाल
यो देश मासी वर्वाद पार्ने वैरीको विचार
पो हो कि साथी वित्यास पर्ला मासिए नेपाल ।




