घर , आगन र वातावरण सफा राखे मात्र रोग र महामारीबाट बच्न सकिने :- वक्ताहरुको भनाई

बिरगंज , पुष ११ गते आइतबार ।

बिरगंज नर्सिङ्ग क्याम्पसमा ब्याचलर ईन नर्सिङ् साईन्सको दोस्रो बर्षमा अध्ययनरत छात्राहरुले आयोजना गरेको वातावरण सरसफाई सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै धेरै जसो वक्ताहरुले घर, आगन र वातावरण सफा राखेमा धेरै रोग तथा महामारीबाट बच्न सकिने बताएका थिए ।

बिरगंज नर्सिङ्ग क्याम्पसकी प्रमुख सूर्या कोईरालाको सभापतित्वमा सम्पन्न सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले स्वास्थ्य सबैभन्दा पहिलो प्राथमिकताको विषय भएको बताए । शिक्षा र स्वास्थ्य भन्दा ठूलो र प्राथमिकताको विषय अरु हुन नसक्ने दावी गर्दै सरसफाई गर्नु अरुको लागि नभई आफ्नै लागि भएको चौगाईको भनाई रहेको थियो ।

वडा सदस्य नुर आलम मियाँले वडा कार्यालयले र जनप्रतिनीधिले गर्नुपर्ने काम विद्यार्थीहरुले गरेकामा आभार व्यक्त गर्दै नागरिकलाई स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने कार्यक्रमलाइ निरन्तरता दिनुपर्ने बताए । वडा सचिव मायालाल रोकायले सफा भएपछि त्यसको प्रभाव पनि दिगो हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारकर्मी सूर्यनारायण वि.क.ले सरसफाईको सुरुवात आफैबाट गर्नुपर्नेमा जोड दिएका थिए । सफा र सुन्दर शहर निर्माणका लागि सुरुमा घर र आँगन सफा हुनुपर्ने उनको भनाई छ । बुझेर पनि बुझ पचाउने परिपाटीका कारण र अरु कोही आउला र गर्छ भन्ने मानसिकता नबदलिएसम्म सफा नहुने उनले बताए ।

कार्यक्रममा नर्सिङ् क्याम्पसमै अध्ययनरत सलमा बेगमले सन्देश मुलक कविता मार्फत सरसफाईमा ध्यान दिन सहभागीहरुलाई आग्रह गरेका थिइन् । बिएनएस दोस्रो वर्षमा अध्ययनरत मुना श्रेष्ठले स्वागत मन्तव्य राख्ने क्रममा वर्षाैसम्म पनि सरसफाई सम्बन्धी सामान्य ज्ञानसमेत नभएका टोलवासीलाई ५ हप्तामा बुझाउन र सिकाउन सफल भएको बताईन् । ५ हप्तामा १ सय ९० घरधुरीका बासिन्दालाई बुझाउन सके जस्तै हरेक सचेत नागरिकले आफ्नो टोलका नागरिकलाई सचेत बनाउन सकेमा सरसफाईमा कायापलट हुने श्रेष्ठले बताईन् ।

वीरगञ्ज महानगरपालिका, वडा कार्यालय छपकैया १, नगर स्वास्थ्य चौकी र वीरगञ्ज युवा समाजको सहयोगमा समपन्न कार्यक्रमको सहजिकरण बिएनएस दोस्रो वर्षमा अध्ययरत सुजिता मिश्रले गरेकी थिइन् ।

अध्ययनको पाठ्यक्रम अनुसार बिरगंजको छपकैयाका १ सय ९० घरमा घरदैलो कार्यक्रममार्फत बाल स्वास्थ्य, मातृ शिशु स्वास्थयसहित व्यक्तिगत एवम् वातावरणीय स्वास्थ्यको बारेमा सचेतना फैलाएको विद्यार्थी सृष्टि तिमिल्सिनाले बताईन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close