तेलकुवा नाकामा खुलेआम कपडा तस्करी ! सूचना पाएर पनि प्रहरी निष्क्रिय, राजस्व चुहावटमा कसको संरक्षण ?

तेलकुवा नाकामा खुलेआम कपडा तस्करी ! सूचना पाएर पनि प्रहरी निष्क्रिय, राजस्व चुहावटमा कसको संरक्षण ?

बारा । भारतसँग जोडिएको बाराको तेलकुवा नाका पछिल्लो समय कपडा तस्करीको सुरक्षित मार्ग बनेको आरोप स्थानीयवासीहरूले लगाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्र हुँदै दैनिक रूपमा मोटरसाइकल तथा अन्य साना सवारी साधन प्रयोग गरी कपडालगायतका सामान अवैध रूपमा नेपाल भित्र्याउने क्रम खुलेआम चलिरहेको छ। यसबाट राज्यले लाखौं रुपैयाँ राजस्व गुमाइरहेको दाबी गरिएको छ।

स्थानीयवासीहरूका अनुसार तस्करीको गतिविधि कुनै लुकिछिपी नभई दिनदहाडै सञ्चालन भइरहेको छ। तर, आश्चर्यजनक रूपमा सुरक्षा निकायको निगरानी तथा नियन्त्रण भने प्रभावकारी देखिएको छैन। यही कारण स्थानीय तहमा प्रहरी प्रशासनको भूमिकामाथि नै गम्भीर प्रश्न उठ्न थालेको छ।

स्थानीय स्रोतहरूले सोहन, राजदेव, खेना, प्रमोद र रमेश नामका व्यक्तिहरूको संलग्नतामा कपडा तस्करीको लाइन सञ्चालन भइरहेको आरोप लगाएका छन्। उनीहरूकै समूहले विगतदेखि नै मोटरसाइकलमार्फत सामान ओसारपसार गर्दै आएको दाबी गरिएको छ। यदि यी आरोप सत्य हुन् भने यो सामान्य चोरीछिपीको कारोबार नभई संगठित तस्करी सञ्जालको संकेत हुन सक्ने जानकारहरूको भनाइ छ।

सबैभन्दा चिन्ताजनक पक्ष भनेको तस्करीबारे पटक–पटक सूचना दिइँदा पनि प्रहरी प्रशासनबाट अपेक्षित कदम नचालिएको आरोप हो। स्थानीयहरूका अनुसार प्रहरी चौकी तेलकुवामा तस्करी भइरहेको जानकारी बारम्बार गराइए पनि न त विशेष निगरानी बढाइयो, न त कुनै ठूलो नियन्त्रण अभियान सञ्चालन गरियो।

स्थानीय स्रोतहरूले प्रहरी चौकी तेलकुवाका असई शम्भु केवट महत्तोलाई समेत तस्करीबारे प्रत्यक्ष जानकारी गराइएको दाबी गरेका छन्। तर सूचना प्राप्त हुँदाहुँदै पनि अवैध सामान नियन्त्रण, संलग्न व्यक्तिको खोजी वा पक्राउका लागि प्रभावकारी पहल नदेखिएको आरोप स्थानीयहरूको छ। यही कारण अहिले गाउँ–समाजमा “कतै तस्करहरूलाई अदृश्य संरक्षण त छैन ?” भन्ने प्रश्न उठ्न थालेको छ।

यति मात्र होइन, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखलाई समेत तस्करीको विषयमा पटक–पटक जानकारी गराइएको स्थानीयहरूको भनाइ छ। तर त्यसपछि पनि ठोस कारबाही नदेखिएको आरोपले झन् शंका बढाएको छ। यदि सुरक्षा निकायसम्म सूचना पुगिसकेको हो भने अवैध सामान किन पक्राउ पर्दैन ? तस्करी रोक्न किन विशेष अभियान सञ्चालन हुँदैन ? भन्ने प्रश्न अहिले सर्वत्र उठिरहेको छ।

सीमावर्ती क्षेत्रका जानकारहरूका अनुसार साना–साना खेपमा सामान भित्र्याउने रणनीति अपनाएर तस्करहरूले सुरक्षा निगरानी छल्ने गरेका छन्। दिनभरि थोरै–थोरै सामान ल्याउँदा नियन्त्रण निकायको आँखा छल्न सजिलो हुने र अन्ततः ठूलो परिमाणमा सामान नेपाल भित्रिने गरेको बताइन्छ। यसरी हुने तस्करीले राज्यको राजस्व मात्र होइन, कानुनी रूपमा व्यापार गरिरहेका व्यवसायीहरूलाई समेत प्रत्यक्ष मारमा पारिरहेको छ।

भन्सार तिरेर कानुनी प्रक्रिया पूरा गर्दै व्यापार गरिरहेका व्यवसायीहरूले राज्यलाई नियमित राजस्व बुझाइरहेका बेला अवैध बाटोबाट सामान भित्र्याउने समूह सक्रिय हुनु राज्यको आर्थिक प्रणालीमाथिकै चुनौती भएको व्यवसायीहरूको भनाइ छ। तस्करी मौलाउँदा वैध व्यापारीहरू प्रतिस्पर्धामा कमजोर बन्दै जाने र अन्ततः सरकारको राजस्व संकलनमा समेत गम्भीर असर पर्ने देखिन्छ।

स्थानीयवासीहरूको सीधा प्रश्न छ “यदि सूचना पाएपछि पनि सुरक्षा निकाय मौन बस्छ भने तस्करी नियन्त्रण कसरी सम्भव हुन्छ ?” उनीहरूले तेलकुवा नाका तथा आसपासका क्षेत्रमा तत्काल विशेष निगरानी टोली परिचालन गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

अब प्रश्न उठेको छ आखिर तस्करहरूलाई संरक्षण कसले गरिरहेको छ ? सूचना पुगेपछि पनि कारबाही किन हुँदैन ? राज्यको राजस्वमाथि भइरहेको यो खुला प्रहार रोक्न जिम्मेवार निकाय कहिले जाग्ने ?

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close