बहुदरमाईका कर्मचारी मेयर साहका मतियार, कामै नगरी कागज मिलाई गर्दैछन् लाखौँ भ्रष्टाचार

पर्साको बहुदरमाई नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरूले कामै नगरी लाखौँको भ्रष्टाचार गर्दै आएको पाइएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर उप्रेती लगायतका कर्मचारीहरूले मेयर नितेनद्र साहको डिजाइनमा कामै नगरी कागज मिलाई लाखौँको भ्रष्टाचार गर्दै आएका हुन ।

नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रहरूमा छुट्ट्याइएको अधिकांश बजेट कागजी प्रकृया पु¥याएर हिनामिना गरिएको नगरपालिका स्रोतले जनाएको छ । किसानहरूको लागि नगरपालिकाले वितरण गरेको बाख्रा, विद्यालयमा पठनपाठन गर्ने बालबालिकाहरूलाई दिइने दिवाखाजा, १७ वटा सामुदायिक विद्यालयहरूमा दिएको एल.ई.डी, स्वास्थ्य क्षेत्रको लागि खरिद गरिएको औषधी लगायतमा नगरपालिकाले लाखौँ रकम कुम्ल्याएको नाम नराख्ने सर्तमा एक जना कर्मचारीले बताएका छन् ।

विकासको नाममा विभिन्न शीर्षक दिएर जनतालाई लाभान्वित हुने कुनै कामै नगरी मेयरका मतियारका रूपमा काम गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर उप्रेती, लेखापाल उपेन्द्र साह र लेखाको सहयोगी नाममा काम गर्ने हरि प्रसाद कुर्मी लगायतका कर्मचारीहरूले कामै नगरी मनपरी बजेट हिनामिना गरेको नगरपालिकाका युवाहरूले गुनासो गरेका छन् । जनतालाई स्वास्थ्य सम्बन्धी कुनै किसिमको सेवा सुविधा नै नदिई स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेट पनि हिनामिना गरी भ्रष्टाचार गरिएको नाम नराख्ने सर्तमा एकजना कर्मचारीले नै बताएका छन् । उनका अनुसार केही आसेपासे कार्यकर्तालाई बाख्रा वितरण गरी लाखौँ रुपैयाँ हिनामिना गरिएको छ । शिक्षाको स्तर उन्नतिको नाममा पनि कामै नगरी व्यापक बजेट हिनामिना गरिएको छ । नगरबासीको विकासको बजेटबाट आफ्ना आसेपासे कार्यकर्तालाई सरकारी नम्बर प्लेटको मोटरसाइकल खरिद गरी दिइएको छ भने नगरपालिकाकै स्रोतबाट महिनौँसम्म चल्ने पेट्रोल खर्च पनि नगरपालिकाकै कोषबाट मेयर साहको निर्देशनमा अधिकृत उप्रेती र लेखापाल साहले दिँदै आएका छन् ।

यति मात्रै होइन मेयर साहले आफ्ना बाउन्सरको रूपमा राखेका ५/६ जना युवाहरूलाई पनि वर्षौँदेखि नगरपालिकाकै बजेटबाट पेट्रोल वितरण गर्दै आएको स्थानीयले पनि बताएका छन् । नगरपालिकाको काम विषेशले मात्रै सवारी साधन प्रयोग गर्नु पर्नेमा आफ्ना कार्यकर्ताहरूलाई समेत सरकारी ढुकुटीबाट मोटरसाइकल खरिद गरी पेट्रोल वितरण गर्दै आएको छ ।

बहुदरमाई नपा–७ का धुरुप कुशवाहा लगायत कैयौँलाई नगरपालिकाले आफ्नै बजेटबाट खरिद गरेको मोटरसाइकल र पेट्रोल दिई बजेट दुरुपयोग गर्ने गरेको नगरबासीले गुनासो गरेका छन् । कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा ग्राभेल बिछ्याईएको नाममा जमिनमा कामै नगरी लाखौँ रकम हिनामिना गरिएको कर्मचारी स्रोतले नै जनाएको छ । यति मात्रै नभई विभिन्न सामाजिक संघ, संस्थाहरूको मिलेमतोमा गरिब, दलित, विपन्न तथा पिछडा वर्गको उत्थानको नाममा पनि मेयर साह र उप्रेतीले लाखौँ हिनामिना गरेको स्रोतको दाबी मात्रै होेईन नगरबासीको पनि आरोप छ । यहाँसम्मकी नगरपालिकाको भ्रष्टाचारको बारेमा सामाजिक संजालमार्फत आवाज उठाउने युवालाई मेयरले साइबर क्राईमको मुद्दा हालेर समेत फसाउने गरेको युवाहरूले गुनासो गरेका छन् । यी यावत विषयबारे अख्तियारले तदारुकताको साथमा अनुगमन गरी छानबिन गरेमा भ्रष्टाचारको पर्दाफास भई जनप्रतिनिधी र कर्मचारी अख्तियारको फन्दामा फस्ने दाबी गरिएको छ ।

विभिन्न शीर्षक दिएर व्यापक भ्रष्टाचार गर्नकै लागि स्वास्थ्य क्षेत्रमा काम गरेका विदुर उप्रेतीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको बुझिएको छ । यी विभिन्न विषय बारे नगरपालिकाका मेयर र अधिकृतसँग सम्पर्क गर्न खोज्दा उनीहरू फोन काटेर सम्पर्कमा आउन चाहेनन् । source:- gothalo khabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close