कबाडीकरको नाममा अवैध असुली

वीरगंज महानगरपालिका कार्यालयले ठेक्कामार्फत असुल गरिरहेको कबाडी कर ठेकेदारले तोकिएको स्थानभन्दा बढी स्थानमा ढाँट राखी कर उठाइरहेको व्यापारीहरूले आरोप लगाएका छन्।

महानगरबाट चालू आवका लागि ऊन, खोटो, जडीबुटी, बनकसलगायत कबाडी मालको कर उठाउन रु छ करोड १९ लाख ८६ मा मेदान्ता कन्स्ट्रक्सन प्रालिले सकार गरेको थियो।

महानगरले कर असुल गर्न ठेकेदार पक्षसँग सशर्त २४ वटा वस्तुबाट महानगरका १३ स्थानमा ढाँट राखी कर उठाउन सम्झौता गरेको थियो। तर सम्झौताविपरीत ठेकेदारले सबै मालसामानबाट कबाडीकर असुल गरिरहेको व्यापारीहरूले आरोप लगाएका छन्। उनीहरूले महानगरसँग कबाडीकर सङ्कलनका लागि तोकिएका १३ वटा स्थानबाहेक पनि ठेकेदारले ढाँट राखेर कर असुल गरिरहेको बताए।

आइसिपी तथा ड्राइपोर्टबाट आउने–जाने सबै लोड/अनलोड गाडीहरूबाट ठेकेदारले कबाडीकर उठाइरहेको छ। ठेकेदारले अवैध तरीकाले रकम उठाइरहे पनि स्थानीय प्रहरी प्रशासन मौन छ। रातिको समयमा भारतीय नम्बरका गाडीहरूबाट नियमविपरीत कर असुल भइरहेको भारतीय सवारीचालकहरूले गुनासो गरेका छन्।

तोकिएका स्थानभन्दा बाहेक ढाँट राखेर कबाडीकर असुल भइरहेको भनेर महानगरमा ठेकेदारविरुद्ध मौखिक उजूरीहरू परे पनि यसबारेमा महानगरले ठेकेदारलाई तह लगाउन सकेको छैन। व्यापारीहरूले पटक–पटक महानगरमा पुगी घटनाबारे जानकारी गराएको तर कर्मचारीहरूले ठेकेदारविरुद्ध कुनै कारबाही प्रक्रिया अगाडि नबढाएकाले ठेकेदारको मनोबल उच्च भएको आरोप लगाएका छन्।

महानगरले कबाडीकर सङ्कलनका लागि ठेकेदारलाई जगदम्बा इन्टरप्राइजेज केराढोका, जगदम्बा सिमेन्ट उद्योगचोक, अम्बे सिमेन्टचोक, ज्योति स्पिनिङचोक, जगरनाथपुर नहर, गण्डक नहर, तेजबहादुर अमात्य सालिक, लक्ष्मणवा, इनर्वा, शङ्कराचार्यद्वार, श्रीपुर, पद्मरोड, विन्ध्यवासिनी, बहुअरी ड्राइपोर्ट चोकमा ढाँट राख्न इजाजत दिएको छ। तर ठेकेदारले सो सम्झौताविपरीत आइसिपी गेटअगाडि पनि ढाँट राखेर कबाडीकर सङ्कलन गरिरहेको छ। तोकिएका स्थानभन्दा बढी स्थानबाट कर उठाउँदा भारतीय चालकहरू पीडित भएका छन्।

महानगरले ऊन, जडीबुटी, सीसा काँच, स्क्रेप, पुरानो फलाम, स्टील, टायर, ट्युब, पुरानो ड्रम, कागज, प्लास्टिक, भुस, चोकर, ब्रान्ड, पराल, कबाड सामान, छाला, जलेको मोबिल, पुरानो पित्तल र पुराना मेशिनरी औजार, काठदाउरा, इँटा, हाड, सिङ, प्वाँख, ढुटो, पिना, चुनी, दालको भाप, जिङ्क, उद्योगबाट उत्पादित सिमेन्ट आदिबाट कबाडी कर उठाउनुपर्नेमा ठेकेदारले तेस्रो मुलुकबाट आयातित सामानमा पनि कर लिने गरेको आरोप छ। ठेकेदारले अवैधरूपमा ढाँट राखेर बाउन्सरहरूमार्फत कबाडीकर उठाउन भारतीय चालकहरूलाई प्रताडितसमेत गर्ने गरेको गुनासो छ।

ठेकेदारद्वारा दोस्रो किस्ता बुझाउन आनाकानी

चालू आव २०७९/८० का लागि मेदान्ता कन्स्ट्रक्सनले महानगरलाई दिनुपर्ने दोस्रो किस्ता अहिलेसम्म बुझाएको छैन। सम्झौता अनुसार मङ्सिर १ गतेभित्र दोस्रो किस्ताबापतको रु दुई करोड १३ लाख ३५ हजार बुझाउनुपर्नेमा अहिलेसम्म नबुझाएको राजस्व महाशाखा प्रमुख मनोज कर्णले बताए।

ठेकेदार दुई महीनादेखि सम्पर्कबाहिर रहेको प्रमुख कर्णले बताए। उनले सम्झौता अनुसार फलाममा लाग्ने दस्तुर केही घटबढ भएकोले ठेकेदारले सो रकम बुझाउन आलटाल गरेको बताए। फलाम प्रतिकिलो दुई रुपैयाँका दरले करअसुल गर्नुपर्नेमा हाल आएर प्रतिकिलो ७५ पैसाको दरले कर उठाउने निर्णय महानगरले गरेपछि ठेकेदारले दोस्रो किस्ता बराबरको रकम बुझाउन आलटाल गरेको राजश्व महाशाखा प्रमुख कर्णले बताए। eprateekdaily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close