अध्यक्ष-अधिकृतका नातेदार-कार्यकर्ता भर्तीकेन्द्र बन्याे सखुवाप्रसौनी गाउँपालिका

पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले ऐन नियम मिचेर आफन्त नातेदारलाई कार्यालयमा जागिर लगाएका छन् । गाउँपालिका अध्यक्ष जसवन्त यादव र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले ऐन नियम मिचेर आफन्त, नातेदार एवं पार्टीका कार्यकर्ताहरुलाई जागिरे बनाएका हुन् । अध्यक्ष यादवले पालिकामा विभन्नि शिर्षकमा खुलेयाम भ्रष्टाचार गरेका छन् भने त्यसमा अधिकृत साहले साथ दिएका छन् र मौकामा चौका हान्दै आफ्नो सालीलाई जागिरे बनाएका छन् ।

अध्यक्ष यादवको ऐन नियमको धज्जी उडाउँदै पालिकाको कार्यालयदेखि वडाको कार्यालयसम्म विभिन्न पदमा आफन्त, नातेदार, पार्टीका कार्यकर्ता भर्ति गरेका छन् भने आफ्ना सालीलाई भर्ती गरेर प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले साथ दिएका छन् । पालिकामा कार्यरत अदितप्रसाद यादव पालिका अध्यक्ष यादवका नातेदार हुन् । यस्तै, ६ नम्बर वडा कार्यालयमा कार्यरत दीपराज प्रसाद यादव पार्टीका कार्यकर्ता हुन् । कृपा सिन्धु गौरो पनि पार्टी कार्यकर्ता हुन् । अरु त अरु, रमाइलो त यो छ कि, जोशजाँगर भएका र आशा गरिएका युवा अध्यक्षले मालपोत कार्यालय वीरगंजमा लेखनदास बनेर बसिरहेको भेटिने कन्जन सहनीलाई पनि जागिर दिएका छन् ।

मालपोत कार्यालयमा भेटिए पनि उनको खातामा पालिकाले ३२ हजार ५ सय २१ रुपैयाँ ५० पैसा तलब पठाइरहेको छ । सुपरभाइजर पदमा राखिएका नागेन्द्र प्रसाद यादव पनि पालिका अध्यक्षका मान्छे हुन् । अध्यक्ष जसवन्त यादवले आफ्ना साला सुनिलकुमार यादवलाई कम्प्युटर शाखामा जागिर दिएका छन् । उनलाई कम्प्युटरको ज्ञान भने छैन तर उनले मासिक ३४ हजार ३ सय ८२ रुपैयाँ ७० पैसा तलब खान्छन् । यस्तै, सन्नीप्रसाद महतो पनि अध्यक्ष यादवका नाता पर्ने कर्मचारी हुन् ।

यहाँ पढेलेखेका युवाहरु कामको खोजीमा भौतारि रहेका छन् तर राजनीति दलको आडमा पालिका प्रमुख एवं कार्यकारी अधिकृत हुने वित्तिकै जुनसुकै नियम कानूनलाई लत्याउँदै अनभिज्ञ व्यक्तिहरु पनि जागिर हुने रैछन भन्ने उदाहारण हो । भर्तिकेन्द्र बनाउनमा साथ दिने प्रमुख प्रशासकीय अधिकृत पनि चतुर छन् । जुन पालिकामा गएपछि विवाद गराएको कुनैपनि पालिका छैन । खुलेयाम भ्रष्टाचार गर्न पल्केका अधिकृत साह मौका छोपी र अध्यक्षको भ्रष्टाचारीमा साथ दिदै आफ्नै साली पल्वीकुमारी साहलाई रोजगार सहायकमा नियुक्त गरी खातामा पैसा पठाइदिएको पाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close