कैलालीमा नाकाबाट व्यापक तस्करी घुमुवाहरु रकम उठाउन भारतीय बजारमा

कैलालीमा नाकाबाट व्यापक तस्करी घुमुवाहरु रकम उठाउन भारतीय बजारमा

धनगढी । भारतबाट भन्सार छलेर विभिन्न सामान तस्करी गर्ने क्रम रोकिएको छैन । कैलालीमा विभिन्न सीमा नाकाबाट व्यापक तस्करी हुन थालेको छ। भारतबाट भन्सार छलेर विभिन्न सामान तस्करी गर्ने क्रम बढेको हो । जसका कारण लाखौं राजश्व चुहावट भइरहेको छ। कैलालीको एक सय किलोमिटर खुल्ला सीमाबाट हुने तस्करीका कारण लाखौं राजस्व चुहावट भइरहेको छ ।

सरोकारवाला निकायले सहयोग नगरेका कारण तस्करी नियन्त्रण हुन नसकेको भन्सार कार्यालयका प्रमुखको आरोप छ । सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्रकै संरक्षणमा कैलालीका विभिन्न नाकाबाट तस्करी बढेको छ । कैलालीमा भन्सार कार्यालयसँगै सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट पनि छ । उसको काम सीमा क्षेत्र सुरक्षाका साथै तस्करी रोक्नु पनि हो । सशस्त्र प्रहरीका डिआईजी दीपक अधिकारी आएपछि केही कडाई गरेजस्तो देखिएपनि तस्करीमा कुनै कमी भएको छैन । सानातिना सामानहरु पक्राउ गरेर केही काम देखाउन खोजेपनि संस्थागत तस्करी भने रोकिएको छैन । तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी र भन्सार कर्मचारीले संयुक्त गस्ती गर्ने गरेका छन्। तर गस्तीबारे तस्करीमा संलग्नहरूले पहिल्यै सूचना पाउने गरेका कारण नियन्त्रण गर्न कठिन भएको छ। कैलाली जिल्ला खुला सीमाना भएकाले तस्करहरुलाई अबैधरुपमा सामान नेपाल भित्राउन सहज भएको छ । सशस्त्रले दैनिक सामान बरामद गरेको देखाएर ठूलो परिमाणमा सेटिंग मिलाएर रातीको समयमा सामानहरु नेपाल भित्रने गरेको छ ।

तस्करहरुले आजभोली भजनीको गुलरिया , मोरिया घाट र डाक्टर घाटबाट सामान अबैधरुपमा सामानहरु भित्राउने गरेका छ ।सशस्त्र प्रहरी बल भजनी बोर्डर पोष्टका इन्चार्जको मिलेमतोमा भजनी क्षेत्रका तस्करीमा संलग्न लोकेन्द्र,धनबहादुर र सुरेशसंग मिलेर भारतको तिकुनीया बजारबाट सामान घाटसम्म ल्याएर सो क्षेत्रबाट करिब २०÷ २५ वटा मोटरसाईकलको प्रयोग गरेर सामानहरु टीकापुर ,लम्की, सुखड ,बौनिया ,चौमाला, मसुरिया लगायतका ठाउँहरुमा पु¥याउने गरिएको छ । नेपाल प्रहरीका चौकी इन्चार्जहरुको मिलेमतोमा समेत तस्करी मौलाईरहेको छ । जिल्लाको पूर्वी दक्षिण नाकाबाट कपडाहरु बढी तस्करी भएको छ ।

टीकापुरतर्फका खक्रौला, चौगुर्दी, अर्नवा, पुरानो भन्सार, कालाकुण्डा र भनजीतर्फका मरियाघाट, जसबहादुरघाट, कौवाखेडाघाट, गुलरीयाघाट, डक्टरघाटबाट व्यापक मात्रामा तस्करी हुने गरेको छ। यी सबै नाकामा मोहना नदी पर्छ। तस्करहरूले डुंगामार्फत सामान नदी पार गराउने गरेको स्थानीय बताउँछन्। सीमा क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरू नै तस्करीमा बढी संलग्न हुने गरेका छन्। टीकापुर र भजनीतर्फका सबै व्यक्तिलाई भारतीय नागरिक मुकेश र आशिषले सामान उपलब्ध गराउने गरेको स्थानीय बताउँछन् । कपडा, हार्डवेयर लगायतका सामान भारतबाट तस्करी गरेर नेपाल ल्याउने गरिएको छ। यी सामान स्थानीय बजार टीकापुर, लम्की, बौनीयाँ, सुखड, जोशीपुर, भजनी, पहलवानपुर, सत्ती बजारमा पु–याउने गरिएको छ। तस्करहरुले चौकुर्दी घाटलाई पनि उपयोग गरेकाछन। गाउँका मानिसहरु सवै सुतिसकेपछि चौकुर्दीबाट स्टिमरको प्रयोग गरेर धनसिंहपुरको बनगाउँ भन्ने स्थानमा झारेर सामान तस्करी भएको स्थानीयको भनाई छ । केही स्थानबाट तस्करी गरेको सामान समातेजस्तो गर्ने तर निश्चित नाकाबाट तस्करी संस्थागत गर्ने काम भएको स्थानीयको आरोप छ । अवैध रुपमा ठूलो मात्रमा भारतका विभिन्न बजारहरुबाट राजश्व छली गरेर सामान भित्राउने काम गरेपनि प्रहरीले नै संरक्षण गरेको तथ्य खुलेको छ । प्रहरीकै अगाडीबाट तस्करहरुले चोरीका मोटरसाईकलमा सामानहरु ओहोरदोहोर गरीरहे पनि प्रहरी मुखदर्शक बनेको छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरी दुवैले सादा पोसाकमा घुमुवाहरु समेत खटाएका छन् । तस्करहरुसंग घुमुवाहरु मिलेका छन् । दुवै प्रहरीका घुमुवाहरु रकम उठाउने काममा लाग्ने गरेका छन् । घुमुवाहरु भारतीय बजारमा जाने र कस्ले सामान कुन नाकाबाट लैजान लागेको छ भन्ने पत्ता लगाएर भारतीय बजारमा बार्गेनिंग गर्ने र नदिएमा फोन गरेर सामान पक्राउ गर्ने गरेको समाचार स्रोतको दावी छ । धनगढीको त्रिनगर भन्सार नाकामा रहेको सशस्त्र प्रहरीको वि.ओ.पी.का शसस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले व्यापक रुपमा रकम असुल्ने गरेको सार्वधारणहरुको गुनासो छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close