
राहुल गुप्ता
सरकारी, निजी र सामुदायिक अस्पताल तथा स्वास्थ्यसंस्थाहरुको सेवा थप सरल र पारदर्शी तथा प्रभावकारी बनाउन उदेश्यले आज प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला एवं सुरक्षा निकायको उपस्थिमा बैठक सम्पन्न भएको छ ।
बैठकले पर्सा जिल्ला भरी स्वास्थ सेवामा देखिएको समस्याहरु लाई समाधान गर्नका निम्ति विभिन्न निर्णयहरु समेत गरिएको छ । जस अनुसार अस्पताल तथा स्वस्थ्यसंस्थाहरुले लिने शुल्कमा एकरुपता कायम गर्नुपर्ने निर्णय गरिएको छ ।
त्यस्तै जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिबाट मिति २०८१-१०-०४ गते भएका निर्णयहरु पूर्ण रुपले कार्यान्वयन गरिनुपर्ने । नेपाल सरकारबाट स्वीकृत मापदण्ड तथा नीतिहरुको पूर्ण परिपालना गर्नु पर्ने , अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमनलाई थप प्रभावकारी बनाउने, अनुगमनको क्रममा विषयविज्ञ तथा नेपाल चिकित्सक संघको समेत प्रतिनिधि सहितको अनुगमन टोली परिचालन गरिनुपर्ने रहेको छ।
कर्मचारीहरुको हकमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुले सेवा, सुविधा, पारिश्रमिक लगायतका विषयमा चासो वा माग राखेकै कारण उनीहरु माथि फरक व्यवहार गर्ने वा सेवाबाट हटाउने कार्य बन्द गर्नुपर्ने रहेको छ ।उनीहरुले हाल खाईपाई आएको सेवा सुविधा के कसरी र कति हदसम्म वृद्धि गर्न सकिन्छ भन्ने विषयमा सबै सरोकारवालाहरुसँग छलफल एवम समन्वय गरी प्रस्ताव गर्न निजी अस्पताल संचालक संघ (APHIN) का अध्यक्षलाई जिम्मेवारी समेत दिने निर्णय भएको छ ।
अस्पताल तथा स्वास्थ्यसंस्थाहरुमा सूचना व्यवस्थापन नागरिकमैत्री बनाउन, स्वास्थ्यकर्मीहरुको आचारसंहित पूर्ण परिपालना गर्ने व्यवस्था गर्ने तथा उपचारको क्रममा स्वास्थ्यकर्मीहरु माथि मानसिक र शारिरिक दवाव दिने, संस्थामा तोडफोड गर्ने, हातपात गर्ने जस्ता उत्छृङ्खल क्रियाकलापहरुलाई नियन्त्रण गर्न शून्य सहनशीलता (Zero Tolerance) को नीति अपनाउने समेत निर्णय भएको जनाइएको छ ।




