कर्मैयामा प्रहरीको कडा निगरानी : सई सुवास यादवको नेतृत्वमा लाखौंको राजश्व छली नियन्त्रण

कर्मैयामा प्रहरीको कडा निगरानी : सई सुवास यादवको नेतृत्वमा लाखौंको राजश्व छली नियन्त्रण

सर्लाहीको इलाका प्रहरी कार्यालय, कर्मैयाले हालै उल्लेखनीय सफलता हात पारेको छ। सई (प्रहरी नायब निरीक्षक) सुवास यादवको नेतृत्वमा कार्यरत टोलीले पूर्व–पश्चिम राजमार्गमा ट्रक जाँच गर्ने क्रममा झन्डै ४८ लाख रुपैयाँ बराबरको राजश्व छली गरिएको सामग्री नियन्त्रणमा लिएको हो।

बुटवलबाट मोरङतर्फ गइरहेको प्र. ३–०१–००५ ख ९४६० नम्बरको ट्रकमा लोड गरिएको सामान शंकास्पद पाइएपछि प्रहरीले रोकजाँच गरेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार, बिलमा त्रुटि भेटिएपछि थप अनुसन्धान गरी सामग्री नियन्त्रणमा लिइएको हो। जफत गरिएका सामग्रीमा जिरा पाउडर, कस्मेटिक, टायर, हेलमेट, मोटर पार्ट्स, ब्याट्री, औषधि, मेसिन, हार्डवेयर, किचेन सिंक लगायतका वस्तुहरू समावेश छन्। ट्रकसहितको सामग्री कानुनी प्रक्रिया पूरा गरी राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको छ।

सई सुवास यादवको कमाण्डमा इलाका प्रहरी कार्यालय, कर्मैयाले पछिल्लो पाँच महिनामा झन्डै ४ करोड रुपैयाँभन्दा बढीको राजश्व छली नियन्त्रणमा लिएको छ। तर उनको सफलता केवल त्यत्तिमा सीमित छैन। लागुऔषध, नक्कली नोट कारोबार, अवैध हतियार, चोरी र अपहरणजस्ता संगठित अपराधहरूमा पनि उनले उल्लेखनीय सफलता प्राप्त गरेका छन्।

हालै, उनले नेतृत्व गरेको टोलीले तीन जना लागुऔषध कारोबारीलाई ठूलो परिमाणको अवैध पदार्थसहित पक्राउ गरेको थियो। साथै, भारतीय सीमाबाट हुने तस्करी, बालबालिका बेचबिखन तथा अवैध कारोबार नियन्त्रणमा पनि उनको सक्रियता देखिएको छ।

स्थानीय प्रतिनिधि, व्यापारी, सामाजिक अभियन्ता र सर्वसाधारणले सई यादवप्रति गहिरो विश्वास प्रकट गर्दै आएका छन्। निरन्तर सक्रियता, शून्य सहनशीलताको नीतिमा आधारित अपराध नियन्त्रण रणनीति र समुदायसँग समन्वयमा आधारित कार्यशैलीले उनलाई सर्लाहीको लोकप्रिय प्रहरी अधिकारी बनाएको छ।

स्थानीयवासी रोशन यादवका अनुसार, सीमा क्षेत्रमा भारतीय प्रहरीसँगको सहकार्य र सूचना आदान–प्रदानमार्फत सई यादवले आपराधिक क्रियाकलाप रोक्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।

प्रहरी दिवसको अवसरमा, तत्कालीन आईजी बसन्त कुँवरले सई सुवास यादवलाई “सर्वोत्तम अनुसन्धानकर्ता” को रूपमा सम्मानित गरेका थिए। यो पुरस्कारले न केवल उनको अनुसन्धान क्षमतालाई औपचारिक मान्यता दिएको छ, तर अन्य प्रहरी अधिकृतहरूका लागि पनि प्रेरणा बनेको छ।

सई यादवको अनुसन्धान क्षमताबाट प्रभावित भएर, प्रहरीले अनुसन्धानको गुणस्तर सुधार गर्न उनका अभ्यासहरूलाई उदाहरणको रूपमा लिन थालेको बताइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close