
वीरगंज, पर्सा – वीरगंज महानगरपालिका अन्तर्गत मुसैली टोलमा रहेको आदर्श क्रसर उद्योगमा एक दर्दनाक दुर्घटनामा एक मजदुरको ज्यान गएको छ। घटनामा मृत्यु हुने व्यक्तिको नाम अजय मण्डल रहेको पुष्टि भएको छ। उनी सोही टोलका स्थायी बासिन्दा र सो क्रसर उद्योगमा कार्यरत मजदुर थिए।
प्रहरीका अनुसार, राती करिब ११ बजे क्रसरको मेसिनमा जडान गरिएको बेल्ट एक्कासि चुँडिँदा अजय मण्डलको घटनास्थलमै मृत्यु भएको थियो। पर्सा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) किसोर लाम्सालका अनुसार दुर्घटनापछि रातभर उद्योगका सञ्चालकहरूले घटनालाई लुकाउन प्रयास गरेका थिए। प्रहरीलाई भने बिहान करिब १० बजे मात्र अन्य स्रोतबाट सूचना प्राप्त भएको थियो।
घटनास्थलबाट मृतकको शव बिहान ११ बजे मात्रै निकालिएको हो। स्थानीयवासी र मृतकको परिवारका सदस्यहरूले सञ्चालकहरूको चरम लापरवाहीले अजयको ज्यान गएको आरोप लगाएका छन्। उनीहरूका अनुसार दुर्घटना भएको समयमा उद्योगमा दुई मजदुर काम गरिरहेका थिए, र तत्काल उद्धार गरिएको भए अजय मण्डलको ज्यान बच्न सक्थ्यो।
घटनापछि संचालक फरार, एक मजदुर प्रहरी नियन्त्रणमा
दुर्घटनापछि उद्योगका प्रमुख सञ्चालक दिनेश यादव र मुन्सी नाम गरेका व्यक्ति फरार रहेका छन्। घटनाबारे थप अनुसन्धानका लागि घटनास्थलमा रहेको एक जना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नियमविपरीत गिटी बालुवा भण्डारणको आरोप
उद्योगमा लाखौँ घनफिट गिटी र बालुवा भण्डारण गरिएको पाइएको छ, जुन नियमानुसार निषेध गरिएको कार्य हो। स्थानीयवासीहरूले आरोप लगाएका छन् कि सञ्चालकहरूले भेडाहा, कर्जनिया लगायतका नदीहरूबाट अवैध रूपमा गिटी-बालुवा उत्खनन गरी क्रसरमा भण्डारण गरेका छन्। सरोकारवालाहरूमाथि आर्थिक दबाब सिर्जना गरी उद्योग सञ्चालन गरिएको आरोप समेत लागेको छ।
मृतकको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइयो
घटनापछि मृतक अजय मण्डलको शव वीरगंजस्थित नारायणी अस्पतालमा पोष्टमार्टम गरिएको थियो। पोष्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।
अनुसन्धान जारी
हाल घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको छ। पर्सा प्रहरीका अनुसार दोषीलाई कानुनी दायरामा ल्याइनेछ भने उद्योगको सुरक्षा व्यवस्था र सञ्चालन प्रणालीबारे समेत छानबिन सुरु गरिएको छ।




