देशभर कात्तिक शुक्ल पञ्चमीका दिन खरना पर्व उल्लासपूर्वक मनाइँदै

देशभर कात्तिक शुक्ल पञ्चमीका दिन खरना पर्व उल्लासपूर्वक मनाइँदै

आज देशभर कात्तिक शुक्ल पञ्चमीका अवसरमा छठ पर्वको दोस्रो दिन पर्ने खरना पर्व श्रद्धा र भक्तिसाथ मनाइँदैछ।

चार दिनसम्म चल्ने छठ पर्व आस्था, विश्वास र शुद्धताको प्रतीकका रूपमा मनाइन्छ। दोस्रो दिन अर्थात् खरनाका दिन बिहानै स्नान गरी शुद्ध वस्त्र धारण गर्ने परम्परा छ। त्यसपछि व्रतालुहरूले दिनभर निराहार र निर्जल उपवास बस्छन्। साँझ सूर्यास्तपछि चामल, दूध र चिनी मिसाई बनाइएको खीर (रसियाव), रोटी, केरा तथा विभिन्न फलफूल–मिष्ठान्न अर्पण गर्दै छठी माता र कुलदेवताको पूजा गर्ने चलन रहँदै आएको छ।

पूजा सम्पन्न भएपछि व्रतालुहरूले पहिलोपटक अन्न ग्रहण गरी उपवास तोड्छन्। यही खरनाको माध्यमबाट सुरु हुने कठोर ब्रत अन्तिम दिन अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पूरा गरिन्छ।

छठ पर्वमा सूर्य भगवान र छठी माताको आराधना गरी सन्तानको दीर्घायु, स्वास्थ्य, समृद्धि र पारिवारिक सुख–शान्तिको कामना गरिन्छ। विशेष गरी तराई–मधेसका जिल्लामा नदी, तलाउ र पोखरी किनारमा लाखौँ श्रद्धालुहरूको सहभागितामा पूजापाठ र अर्घ्यदान गरिन्छ।

महाभारत र सूर्य पुराणमा पनि उल्लिखित यो पर्व सन्तान र परिवारको कल्याणसँग सम्बन्धित मानिन्छ। नेपालमा २०४६ सालदेखि राष्ट्रिय पर्वको मान्यता पाएको छठ अहिले मधेसका साथै काठमाडौं, पोखरा, धरानलगायत देशका अन्य सहरहरूमा पनि व्यापक रूपमा मनाइने भएको छ। हालका वर्षहरूमा पहाडी समुदाय र मुस्लिम धर्मावलम्बीहरूले पनि श्रद्धा र सम्मानका साथ यो पर्व मनाउन थालेका छन्, जसले छठलाई साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close