मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियामाथि ‘असुली–तस्करी संरक्षक’को आरोप : प्रहरीभित्रै बन्दैछ उग्र असन्तोष

पूर्व–आईजीपी चन्द्रकुवेर खापुङका नजिकका मानिने मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलिया उनीकै अभिव्यक्ति र गतिविधिका कारण अहिले प्रहरी संगठनभित्रै कडा आलोचनाको केन्द्रबिन्दु बनेका छन्। मधेशका प्रहरी ‘पैसा कमाउनकै लागि आएको’ भनेर सार्वजनिकरूपमा आरोप तिनपु¥याउने थपलियामाथि उल्टै आफ्नै मातहत प्रयोग गरेर असुली–तस्करीको जालो चलाएको गम्भीर दाबी सतहमा आउन थालेका छन्।

मंगलबार एक कार्यक्रममा डीआईजी थपलियाले मधेशमा खटिने प्रहरीलाई नै ‘पैसाको मोह’ भएको भन्दै कठोर टिप्पणी गरे। तर प्रहरीभित्रैबाट उठेका आवाजहरू भने उल्टै थपलियामाथि नै केन्द्रित छन्।
“धनुषामा एसपी हुँदा सादा पोशाकका घुमुवा परिचालन गर्दै असुली–तस्करीको लाइन उनी स्वयं चलाउने त होइनन्?”

‘केन्द्रीय संयोजक’को भूमिकामा सई गोपाल थापा मगर?

पूर्वआईजीपी खापुङको सिफारिसमा काठमाडौँ दरबन्दी भइसकेका बरिष्ठ सई गोपाल थापा मगरलाई थपलियाले मधेशमै राखेर ‘केन्द्रीय घुमुवा संयन्त्र’ सञ्चालन गराएको प्रहरीभित्रैबाट दाबी गरिन्छ। थापा विभिन्न जिल्लामा असुली, सेटिङ मिलाउने र लाइन सञ्चालन गर्ने जिम्मेवारीसहित सक्रिय रहेको आरोप छ।

सर्लाहीमा हवल्दार भागनारायण साह र जवान नुरु होडालाई घुमुवा बनाइ असुली गराएको, असहमत देखिने प्रहरीलाई गणमा तानेर थन्क्याउने दमनकारी अभ्याससमेत भएको प्रहरी स्रोतहरूले उल्लेख गर्छन्।
यसै क्रममा सर्लाहीबाट तानेर गणमा थुनिएका हवल्दार बच्चा यादवलाई पछि ‘दररेट बुझाएर’ बारा, पर्सा र रौतहटमा घुमुवा परिचालनको जिम्मा दिइएको उदाहरणसमेत अगाडि सारिन्छ।

पर्साका हवल्दार छोटेलाल यादव, धनुषाका सई जयलाल यादव र बाराका जवान पवन महतो समेत थापा–थपलिया नेटवर्कमार्फत छुट्टाछुट्टै असुली स्थानमा खटाइने गरेको आरोप प्रहरीभित्रै तीव्र रूपमा फैलिएको छ।
मधेशका आठै जिल्लामा घुमुवा नेटवर्क बनाइ डीआईजीको नाममा पैसा उठाइने प्रहरी समूहको आरोप झनै कडा बन्दै गएको छ।

व्यापारीबाट नजराना उठाएर तस्करीमार्ग खुलाइदिएको दाबी

धनुषाका मदिरा व्यवसायी राजीव महासेठ र महोत्तरीका व्यापारी कालियाले ‘नजराना बुझाएर’ ढल्केबर र भारतको पिपरिया तस्करीमार्ग स्वतन्त्र रूपमा चलाएको, र उक्त सेटिङ सई थापा तथा डीआईजी थपलियामार्फतै मिलाइएको दाबीसमेत गरिएको छ।
यस्तो आरोपसँगै मधेशमा प्रहरीभित्रको उच्च तहमै असुली संरचना गहिरोसँग बसीसकेको प्रश्न उठ्न थालेको छ।

आफ्नै संगठनका सदस्यमाथि ‘पैसा खाने’ आरोप लगाउने डीआईजी थपलिया कार्यक्षमता र नेतृत्व क्षमतामा कमजोर रहेको आन्तरिक मूल्याङ्कनसमेत प्रहरी अधिकारीहरूले गरेको बताइन्छ।
उता, बढ्दो विवाद र उग्र आलोचनाबीच उनीमाथि सार्वजनिक छानबिन र कारबाहीको माग पनि जोरदार हुँदै गएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close