वीरगञ्ज–१९ बिन्दबासिनी चौकको सार्वजनिक ऐलानी जग्गा अवैध कब्जामा

वीरगञ्ज–१९ बिन्दबासिनी चौकको सार्वजनिक ऐलानी जग्गा अवैध कब्जामा

वीरगञ्ज महानगरपालिका–१९ अन्तर्गत बिन्दबासिनी चौकमा अवस्थित पूर्व पञ्चायतकालीन सार्वजनिक ऐलानी जग्गा लामो समयदेखि अवैध रूपमा कब्जा गरिएको पाइएको छ ।

वडा नम्बर १९ को कित्ता नम्बर ८२ मा रहेको करिब ७ कठ्ठा क्षेत्रफलको ऐलानी जग्गामा निर्माण गरिएका सटरहरू विभिन्न व्यक्तिहरूले कुनै पनि भाडा नतिरी निजी व्यवसाय सञ्चालनका लागि प्रयोग गर्दै आएका छन् । सो स्थानमा ललन साह कानुले बिन्दबासिनी अनमोल मिष्ठान्न भण्डार सञ्चालन गरिरहेका छन् भने अर्को सटरमा अमित यादवले आरके रिचार्ज सेन्टर सञ्चालन गर्दै आएका छन् । यसैगरी, दुई वटा सटरमा अस्थायी प्रहरी पोस्ट बिन्दबासिनी सञ्चालनमा रहेको छ भने एउटा सटर हाल खाली अवस्थामा रहेको छ ।

यस विषयमा श्री बिन्दबासिनी माई युवा क्लबका अध्यक्ष सोनु कुमार गुप्ताले सार्वजनिक सम्पत्तिमा केही व्यक्तिहरूले अवैध रूपमा कब्जा जमाएर निजी फाइदाका लागि प्रयोग गर्नु गम्भीर विषय भएको बताउँदै कडा आपत्ति जनाएका छन् । “सार्वजनिक जग्गा कब्जा गरी निजी व्यवसाय सञ्चालन गर्नु कानुनविपरीत र गलत कार्य हो,” अध्यक्ष गुप्ताले भने ।

उक्त स्थानमा निर्माण गरिएको सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा रहेको छ । शौचालयको सरसफाइ तथा व्यवस्थापनप्रति त्यहाँ बसेका व्यक्तिहरूले कुनै चासो नदिएको आरोप पनि स्थानीयले लगाएका छन् ।

अर्कोतर्फ, वडा नम्बर १९ को कार्यालय हाल बिन्दबासिनी चौक नजिकै मासिक २५ हजार रुपैयाँ भाडा तिरेर सञ्चालन भइरहेको छ । वर्षेनी लाखौँ रुपैयाँ भाडामा खर्चिनुभन्दा सोही ऐलानी जग्गामा रहेको संरचनालाई व्यवस्थित गरी वडा कार्यालयका रूपमा प्रयोग गर्नुपर्ने माग स्थानीयवासीहरूले उठाएका छन् ।

यस सन्दर्भमा वीरगञ्ज महानगरपालिकाको राजस्व व्यवस्थापन महाशाखाका प्रमुख मनोज कुमार कर्णले उक्त ऐलानी जग्गा तथा सटरहरूको उपयोगका लागि हालसम्म कुनै पनि टेण्डर प्रक्रिया आह्वान नगरिएको स्पष्ट पारेका छन् ।

स्थानीयवासीहरूले सार्वजनिक सम्पत्तिको संरक्षण, पारदर्शी व्यवस्थापन तथा कानुनी प्रक्रिया अनुसार जग्गा र संरचनाको उपयोग सुनिश्चित गर्न वीरगञ्ज महानगरपालिकासँग जोडदार माग गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close